

काठमाडौं । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्रालयमा पदभार ग्रहण गरेपछि पहिलो दिनका निर्णयहरू सार्वजनिक गरेका छन्।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मन्त्री पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई शून्यबाट व्यवस्थित रूपमा अघि बढाउने तयारी थालिएको बताएका छन्।
उनका अनुसार मन्त्रालयको आधारभूत संरचना र कार्यप्रणालीलाई व्यवस्थित गर्न सबैभन्दा पहिले विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐन ल्याउने उद्देश्यका साथ विधेयक तयार गर्ने निर्णय गरिएको छ।
त्यसैगरी मन्त्रालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक कर्मचारी संख्या, दरबन्दी तथा कार्यसम्पादन प्रणाली निर्धारणका लागि संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण गर्ने निर्णय पनि गरिएको छ।
मन्त्री पुनले विभिन्न मन्त्रालयअन्तर्गत छरिएर सञ्चालन भइरहेका अनुसन्धान, विज्ञान तथा नवप्रवर्तनसम्बन्धी कार्यक्रमलाई एकीकृत र प्रभावकारी बनाउने विषयमा तत्काल गहन छलफल सुरु गर्ने निर्णयसमेत भएको बताएका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, “विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सबै कुरा शून्यबाट सुरु हुँदैछ। यो मन्त्रालय अन्य मन्त्रालयजस्तो पूर्ण तयारी अवस्थामा छैन। त्यसैले कानुनी, प्रशासनिक र संरचनागत आधार तयार पार्ने कामलाई प्राथमिकतामा राखेका छौँ।”
म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित प्रतिनिधिसभा सदस्य पुनलाई राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले गत मंगलबार विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री नियुक्त गरेको थियो। विज्ञान, अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा लामो समयदेखि सक्रिय पुनको नियुक्तिलाई यस क्षेत्रका सरोकारवालाले चासोका साथ हेरेका छन्।