

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिकका लागि तोकिएको समयसीमा आज राति १२ बजे समाप्त हुँदैछ। पार्टीले सबै क्रियाशील सदस्यलाई निर्धारित समयभित्र सदस्यता अध्यावधिक गरिसक्न आग्रह गरेको छ।
महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले आज मध्यरातिसँगै अध्यावधिकको प्रक्रिया बन्द हुने जानकारी दिँदै छुटेका सदस्यलाई तत्काल प्रक्रिया पूरा गर्न अपिल गरेका हुन्।
कांग्रेसका अनुसार अध्यावधिकका लागि योग्य सात लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये बुधबार बेलुकासम्म चार लाख ५७ हजार ३६६ जनाले सदस्यता अध्यावधिक गरिसकेका छन्। यस्तै, थप एक लाख २४ हजार ७४८ जनाले अनलाइन फाराम भरेर अध्यावधिक प्रक्रियामा सहभागिता जनाइसकेका छन्।
महामन्त्री पौडेलले अन्तिम समयमा एकैपटक धेरैले फाराम भर्दा प्राविधिक समस्या आउन सक्ने भएकाले ढिलाइ नगरी प्रक्रिया पूरा गर्न आग्रह गरेका छन्। उनले पार्टीको वेबसाइटमार्फत मोबाइल फोनबाटै सहज रूपमा सदस्यता अध्यावधिक गर्न सकिने बताए।
प्रक्रियाबारे जानकारी नभएका सदस्यलाई वडा सभापति वा जानकार व्यक्तिको सहयोग लिएर समयमै अध्यावधिक गर्न पनि उनले अनुरोध गरेका छन्।
पार्टीले सदस्यता व्यवस्थापनलाई डिजिटल, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले अनलाइन माध्यमबाट अध्यावधिक अभियान सञ्चालन गरिरहेको जनाएको छ।
कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार विगतमा नेताहरूले अरूको नाममा फाराम भर्ने प्रवृत्ति रहेकाले संख्या बढी देखिने गरेको थियो। अहिले सदस्यहरू आफैंले अनलाइनमार्फत फाराम भर्ने प्रणाली लागू भएकाले संख्या केही कम देखिनु स्वाभाविक भएको उनको भनाइ छ।
पार्टीले तोकिएको समयभित्र अनलाइन प्रणालीमा सदस्यता अध्यावधिक गर्ने क्रियाशील सदस्यहरू मात्रै आगामी १५औँ महाधिवेशनमा सहभागी हुन योग्य हुने स्पष्ट गरेको छ।