काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजदरबार हत्याकाण्डसँगै नेकपा एमालेका नेता मदन भण्डारीको मृत्यु प्रकरणको पनि निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्ता संवेदनशील घटनाहरूको सत्यतथ्य बाहिर ल्याउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको संलग्नतामा अनुसन्धान हुनुपर्ने धारणा राखे।
उनले हालै नियुक्त गृहमन्त्री सुधन गुरुङले राजदरबार हत्याकाण्डको छानबिन गर्ने प्रतिबद्धता जनाउनु सकारात्मक भए पनि छानबिनलाई विश्वसनीय बनाउन बाह्य विज्ञसमेत सहभागी गराउनुपर्ने बताए।
घिसिङले पूर्वप्रधानमन्त्री सुशील कोइरालाको मृत्युबारे उठेका शंका तथा निर्मला पन्त हत्या प्रकरणमा न्याय नपाइएको विषयमा पनि गम्भीर अनुसन्धान आवश्यक रहेको बताए।
त्यसैगरी उनले टिकापुर घटनापछि गठन गरिएको लाल आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक नभएको भन्दै तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरे।
उनले राजनीतिक व्यक्तित्वसँग सम्बन्धित मात्र नभई अन्य विभिन्न घटनाहरूको पनि निष्पक्ष छानबिन गरेर सत्य बाहिर ल्याउनुपर्ने आवश्यकता औंल्याए।