प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध सडकमा उत्रियौं : आरेन राई

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध सडकमा उत्रियौं : आरेन राई

काठमाडौं । आरेन राई ले प्रधानमन्त्रीको हालैको अभिव्यक्तिलाई राष्ट्रहितविपरीत र राष्ट्रघाती भएको आरोप लगाउँदै त्यसको विरोधमा सडक आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन्। माइतीघरमा आयोजित प्रदर्शनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई समर्थन गर्न सामाजिक सञ्जालमार्फत कीर्ते प्रमाणहरू प्रयोग गरेर भ्रम फैलाउने प्रयास भइरहेको दाबी गरे। उनले यस्ता भ्रम चिर्न र वास्तविकता जनतासमक्ष पुर्‍याउन आफूहरू आन्दोलनमा उत्रिएको बताए।

राईले प्रधानमन्त्रीको अभिव्यक्तिपछि सरकारका तर्फबाट आएको स्पष्टीकरणप्रति पनि असन्तुष्टि व्यक्त गरे। उनका अनुसार प्रधानमन्त्रीको भनाइलाई ढाकछोप गर्न परराष्ट्र मन्त्रालय र सरकारका प्रवक्ताले थप विवादास्पद व्याख्या गरेका छन्।

“प्रधानमन्त्रीज्यूले आफ्नो अभिव्यक्तिपछि नांगिनुभएको छ। उहाँले अतिक्रमण भन्न मिल्छ तर प्रधानमन्त्रीज्यूले यसो भन्न खोज्नुभएको हो भनेर परराष्ट्र मन्त्रालयले ढाकछोप गर्न खोज्यो। सरकारको प्रवक्ताले पनि त्यही ढङ्गले बोल्नुभयो। एउटा गल्ती ढाकछोप गर्न अर्को गल्ती गर्नुहुँदैन,” उनले भने।

राईले सीमा समस्या र सीमा अतिक्रमण दुई फरक विषय भएको उल्लेख गर्दै सरकारले जानाजानी दुवै विषयलाई मिश्रित रूपमा प्रस्तुत गर्न खोजेको आरोप लगाए। उनले सरकार संसद्प्रति उत्तरदायी हुन नसकेको दाबी गर्दै प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराएर स्पष्ट जवाफ दिनुपर्ने माग गरे।

उनका अनुसार प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय हितमा दीर्घकालीन असर पार्न सक्ने भएकाले राष्ट्रवादी नागरिक र बौद्धिक वर्गमा चिन्ता बढेको छ। उक्त अभिव्यक्ति नियोजित रूपमा आएको हो वा असावधानीवश आएको हो भन्ने विषयमा सम्बन्धित राजनीतिक दलले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ।

राईले प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्ति सच्याउनुपर्ने र आवश्यक परे सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने धारणा व्यक्त गरे। प्राकृतिक कारण वा सीमाङ्कनका कारण उत्पन्न विवादलाई सीमा समस्या भन्न सकिने तर राज्य शक्तिको प्रयोग गरी अर्को देशको भूभाग कब्जा गर्नुलाई मात्र अतिक्रमण भन्न मिल्ने उनको तर्क थियो। संसद्मा यस विषयमा विपक्षी दलहरूको आगामी रणनीतिबारे सोधिएको प्रश्नमा उनले असार २५ गतेपछि मात्रै त्यसबारे स्पष्ट हुने बताए।