काठमाडौं–ललितपुरका ९८ स्थानमा आज ४ घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौं–ललितपुरका ९८ स्थानमा आज ४ घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौं । काठमाडौं र ललितपुरका झण्डै एक सय स्थानमा आज चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार स्युचाटार र टेकु सबस्टेसनअन्तर्गत कुलेश्वर, कीर्तिपुर, रत्नपार्क तथा पुल्चोक वितरण केन्द्रबाट विद्युत् आपूर्ति भइरहेका ९८ स्थानमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा बन्द गरिनेछ।

प्राधिकरणअन्तर्गत सञ्चालित १३२ केभी प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाले जारी गरेको सूचनाअनुसार कुलेश्वर वितरण केन्द्रअन्तर्गत ५३, कीर्तिपुरअन्तर्गत ११, रत्नपार्कअन्तर्गत २० तथा पुल्चोक वितरण केन्द्रअन्तर्गत १४ स्थानमा विद्युत् आपूर्ति प्रभावित हुनेछ।

१३२ केभी स्युचाटार सबस्टेसनको मर्मत, स्तरोन्नति तथा प्राविधिक सुधारका कार्य सम्पन्न गर्न विद्युत् सेवा अवरुद्ध गर्न लागिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सटडाउन अवधिमा काठमाडौं उपत्यकाभित्र रहेका अन्य सबस्टेसनबाट आपूर्ति हुने वितरण प्रणालीमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेको छ।