

काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने स्वदेश फर्किनुअघि अयोध्या पुगेर राम मन्दिरको दर्शन तथा पूजा गरेका छन्।
लामिछानेसँग उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य र प्रतिनिधिसभा सदस्य दीपक बोहोरा पनि अयोध्या पुगेका थिए। टोलीले राम मन्दिरमा पूजा–आराधना गर्दै धार्मिक दर्शन गरेको जनाएको छ।
पाँचदिने भारत भ्रमणमा रहेका लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल आज स्वदेश फर्किने कार्यक्रम रहेको छ।
भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने जेठ १८ गते भारत भ्रमणमा गएका थिए। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस. जयशंकरलगायत उच्चस्तरीय राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए।
यसैबीच, रास्वपाका नेता तथा परराष्ट्रमन्त्री शिशिर खनाल भने आजदेखि भारतको औपचारिक भ्रमणमा जाँदै छन्। भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा हुन लागेको तीनदिने भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धका विविध विषयमा उच्चस्तरीय छलफल हुने कार्यक्रम छ।