

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ।
बिहीबार साँझ भएको उक्त भेटमा द्विपक्षीय चासोका विषय, क्षेत्रीय राजनीतिक अवस्था तथा समसामयिक घटनाक्रमबारे छलफल भएको बताइएको छ।
भारतका लागि अमेरिकी राजदूतसमेत रहेका गोरले यसअघि गत वैशाखमा नेपाल भ्रमणका क्रममा पनि लामिछानेसँग भेट गरेका थिए। त्यस अवसरमा नेपाल–अमेरिका सम्बन्ध, लोकतान्त्रिक अभ्यास तथा समसामयिक राजनीतिक विषयमा विचार आदानप्रदान भएको जनाइएको थियो।
भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा रहेका लामिछाने जेठ १८ गते नयाँ दिल्ली पुगेका हुन्। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस. जयशंकरलगायत भाजपा नेतृत्वसँग उच्चस्तरीय भेटघाट गरिसकेका छन्।
रास्वपाका अनुसार भारत भ्रमणका क्रममा भएका भेटवार्ताहरू नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य, आर्थिक विकास, लोकतान्त्रिक अभ्यास तथा आपसी हितका विविध विषयमा केन्द्रित रहेका छन्।
यसअघि पनि सर्जियो गोर नेपाल भ्रमणमा आएका बेला रास्वपा नेतृत्वसँग भेटवार्ता गरेका थिए। हालको भेटलाई नेपाल, भारत र अमेरिकासँग सम्बन्धित साझा चासोका विषयमा भएको नियमित कूटनीतिक संवादका रूपमा हेरिएको छ।