

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आजदेखि तीनदिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्दैछन्। भारतीय विदेशमन्त्री एस. जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको भ्रमण जेठ २४ गतेसम्म चल्नेछ।
परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नेछन्। भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्षबारे विस्तृत छलफल हुने जनाइएको छ।
विशेषगरी व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल (कनेक्टिभिटी) तथा जनस्तरका सम्बन्धलाई थप सुदृढ बनाउने विषय वार्ताको केन्द्रमा रहने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानअन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल–भारतबीचको दीर्घकालीन, ऐतिहासिक तथा बहुआयामिक सम्बन्धलाई अझ मजबुत बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ। परराष्ट्रमन्त्री खनाल जेठ २४ गते स्वदेश फर्किने कार्यक्रम छ।
यसैबीच, परराष्ट्रमन्त्री खनालले सरकार सुशासन, पारदर्शिता र तीव्र आर्थिक विकासको लक्ष्यसहित अघि बढिरहेको बताएका छन्। नागरिकका अपेक्षा र आकांक्षा पूरा गर्न सरकार, निजी क्षेत्र, विकास साझेदार तथा अन्य सरोकारवालाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनको भनाइ छ।
उनले क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा नेपालको आवाज र प्राथमिकतालाई प्रभावकारी रूपमा उठाइरहेको उल्लेख गर्दै विकास साझेदारीलाई अझ व्यवस्थित, परिणाममुखी र दिगो बनाउनुपर्नेमा जोड दिए। स्थानीय तहलाई थप सशक्त बनाउनु नै विकास र सामाजिक रूपान्तरणको आधार भएको उनको धारणा छ।
उता, भारतीय जनता पार्टीको निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने आज स्वदेश फर्किने कार्यक्रम रहेको छ।