

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार उल्लेख्य रूपमा बढ्दै बजार सकारात्मक दिशातर्फ गएको छ। आज बजार बन्द हुँदा नेप्से परिसूचक २२.२१ अङ्कले बढेर २७७७.५८ विन्दुमा पुगेको छ। यो वृद्धि ०.८० प्रतिशत बराबर हो। अघिल्लो कारोबार दिन झण्डै २८ अङ्कले घटेको बजारले आज पुनः सुधार देखाएको हो।
दिनभर भएको कारोबारमा कुल ५ अर्ब २६ करोड ५२ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ। ३४६ कम्पनीका १ करोड १३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ।
कारोबार विवरणअनुसार १८४ कम्पनीको सेयर मूल्य बढेको छ भने ७७ कम्पनीको घटेको छ। १० कम्पनीको मूल्य स्थिर रहेको छ।
व्यक्तिगत कम्पनीमध्ये कालिञ्चोक हाइड्रोपावर का लगानीकर्ताले सबैभन्दा बढी १४.९८ प्रतिशत नाफा कमाएका छन्। त्यसपछि सेन्ट्रल फाइनान्स १३.६७ प्रतिशत र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स १०.५७ प्रतिशतले बढेका छन्।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ, जसको ४६ करोड ७६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। साथै नेपाल पुनर्बीमा कम्पनी र रिडी पावर कम्पनी पनि उच्च कारोबार हुने सूचीमा परेका छन्।
समग्रमा आज उत्पादनमूलक बाहेकका सबै उपसूचक बढेका छन्। सबैभन्दा बढी वृद्धि ‘अन्य’ समूहमा ३.८४ प्रतिशतले देखिएको छ। बजारमा खरिद चाप बढ्दा परिसूचकसँगै कारोबार रकममा पनि सकारात्मक प्रभाव परेको विश्लेषकहरूले बताएका छन्।