संसद्मा भूमिका थप प्रभावकारी बनाउने कांग्रेस संसदीय दलको निर्णय

संसद्मा भूमिका थप प्रभावकारी बनाउने कांग्रेस संसदीय दलको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले सङ्घीय संसद्मा आफ्नो भूमिका थप प्रभावकारी बनाउने निर्णय गरेको छ । बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकमा संसद्मा आगामी रणनीति, बजेट र दलको आन्तरिक संरचनाबारे छलफल भएको हो ।

बैठकपछि जानकारी दिँदै कांग्रेस प्रमुख सचेतक वासना थापा ले शुक्रबार प्रस्तुत हुने आगामी आर्थिक वर्षको बजेट तथा संसदीय दलको कार्यसमितिसम्बन्धी विषयमा विस्तृत छलफल भएको बताइन् ।

उनका अनुसार बैठकमा संसद्मा पार्टीको भूमिका अझ प्रभावकारी बनाउने रणनीति तय गर्नुका साथै रिक्त रहेका संसदीय दल कार्यसमितिका पदहरू पूर्णता दिने विषयमा पनि छलफल गरिएको थियो ।

प्रमुख सचेतक थापाले संसद्का विषयगत समितिको अध्ययन तथा समन्वयका लागि पार्टीका तर्फबाट संयोजक तोक्ने विषयमा समेत बैठकमा कुराकानी भएको जानकारी दिइन् ।

यसैगरी गणतन्त्र दिवसका अवसरमा सरकार प्रमुखको सम्बोधन नहुने भन्ने सार्वजनिक विषयमा पनि बैठकमा छलफल भएको उनले बताइन् ।