

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएको भन्दै संसद् बैठक बहिष्कार गरेका छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले आफूहरूले निरन्तर प्रधानमन्त्रीसँग जवाफ माग्दै आएको उल्लेख गर्दै सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराएका थिए।
सभामुख अर्यालले यस विषयमा अघिल्लो दिन पनि छलफल भएको बताएका थिए। त्यसपछि साम्पाङले प्रधानमन्त्री बैठकमा उपस्थित हुनुपर्ने, अन्यथा आफूलाई सदनबाट निकाल्नुपर्ने माग राखेका थिए।
साम्पाङले प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ अनुसार प्रधानमन्त्री वा मन्त्रीले उठेका प्रश्नको सात दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसको पालना नगरेको आरोप लगाए।
उनले यस्तो अवस्थामा आफूलाई नै संसद् बैठकबाट हटाउन सभामुखलाई आग्रह गरेका थिए। केहीबेर सवाल–जवाफ भएपछि साम्पाङ बैठक कक्षबाट बाहिरिएका थिए।