प्रधानमन्त्री सम्बोधन गर्ने सहमतिसँगै प्रतिनिधिसभा सञ्चालनमा सहमति, विपक्षीले अवरोध फिर्ता गर्ने निर्णय

प्रधानमन्त्री सम्बोधन गर्ने सहमतिसँगै प्रतिनिधिसभा सञ्चालनमा सहमति, विपक्षीले अवरोध फिर्ता गर्ने निर्णय

काठमाडौं । प्रतिनिधिसभा सञ्चालनका विषयमा सत्तापक्ष र विपक्षी दलहरूबीच सहमति भएको छ। सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेपछि सिंहदरबारमा भएको छलफलमा सदन सुचारु गर्ने सहमति जुटेको हो।

रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका प्रमुख सचेतकहरूको अनौपचारिक छलफलपछि संसदको अवरोध हटाउने समझदारी बनेको हो। छलफलमा सहभागी नेताहरूका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा सम्बोधन गर्ने प्रतिबद्धता सत्तापक्षले जनाउने र त्यसपछि विपक्षी दलहरूले अवरोध फिर्ता लिने सहमति भएको छ।

नेकपा प्रमुख सचेतक युवराज दुलालले आजै बस्ने बैठकमा प्रधानमन्त्रीको सम्बोधन गराउने विषयमा सत्तापक्षले औपचारिक प्रतिबद्धता जनाउने बताए। रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले पनि प्रधानमन्त्रीले संसदमा बोल्ने मिति घोषणा भएपछि सदनको अवरोध हटाइने सहमति भएको जानकारी दिए।

उनका अनुसार, “सत्तापक्षले प्रधानमन्त्रीको तर्फबाट हाउसमा बोल्ने प्रतिबद्धता व्यक्त गर्ने र विपक्षीले अवरोध फिर्ता लिने समझदारी भएको हो।”

छलफलमा रास्वपाबाट बुर्लाकोटी, कांग्रेसबाट बासना थापा, एमालेबाट ऐनबहादुर महर, नेकपाबाट युवराज दुलाल, श्रम संस्कृति पार्टीबाट आरेन राई तथा राप्रपाबाट खुसीबु ओली सहभागी थिए।