

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण, राजनीतिक स्थिरता र नीतिगत निरन्तरता सुनिश्चित गर्न आफ्नो सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
मंगलबार नेपाल भ्रमणमा रहेका युरोपेली मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री शाहले नयाँ सरकार गठन भए पनि विगतका नीति र अभ्यासबाट पूर्ण रूपमा अलग नहुने स्पष्ट पारे ।
उनले भने, “नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन। नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य हुने सुनिश्चित गर्दै हामी लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न प्रतिबद्ध छौँ।”
प्रधानमन्त्री शाहले नागरिकको जीवनस्तर सुधारलाई सरकारको प्रमुख प्राथमिकता बनाइएको उल्लेख गर्दै वास्तविक परिवर्तन देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनका अनुसार हालै सम्पन्न निर्वाचनले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट जनादेश दिएको छ, जसअनुसार सरकारले नीतिगत निरन्तरता कायम गर्दै अघि बढ्नेछ ।
उनले नेपालले सन्तुलित र व्यावहारिक परराष्ट्र नीति अवलम्बन गरिरहने उल्लेख गर्दै छिमेकी, विकास साझेदार र मित्र राष्ट्रहरूसँगको सम्बन्ध आपसी सम्मान र साझा समृद्धिमा आधारित हुने बताए ।
प्रधानमन्त्री शाहले व्यापार, लगानी, हरित ऊर्जा, जलवायु, पर्यटनलगायत क्षेत्रहरूमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने सरकारको लक्ष्य रहेको पनि जानकारी दिए ।
भेटमा युरोपेली संघका राजदूतहरूले नेपालले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेको भन्दै प्रशंसा गरेका थिए । उनीहरूले सुशासन, आर्थिक विकास र समृद्धिको दिशामा नयाँ सरकारसँग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।