सुकुम्वासीमाथि सरकारले अमानवीय व्यवहार गरेको भन्दै कांग्रेस सांसद केरुङको आपत्ति

सुकुम्वासीमाथि सरकारले अमानवीय व्यवहार गरेको भन्दै कांग्रेस सांसद केरुङको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सुकुम्वासीमाथि सरकारले देखाएको व्यवहारप्रति आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पूर्वतयारी, सूचना र वैकल्पिक व्यवस्था बिना डोजर चलाउँदा हजारौँ नागरिक असुरक्षित, त्रसित र अन्योलमा परेको बताए।

उनले भने, “यो भत्काइएको घरको मात्र होइन, भत्काइएको जीवन, भविष्य र सपनाहरूको हो।” केरुङले होल्डिङ सेन्टरमा राखिएका नागरिकको अवस्था अत्यन्त दयनीय रहेको उल्लेख गर्दै उनीहरू मानसिक पीडामा रहेको दाबी गरे।

उनका अनुसार, वर्षौँदेखि बसेका बस्ती हटाइँदा बालबालिकाको पढाइ प्रभावित भएको, रोजगारी गुमेको र सामाजिक सम्बन्ध समेत टुटेको छ। उनले होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएको भन्दै पीडितको आवाज दबाइएको आरोप लगाए।

सांसद केरुङले सरकारले दिएको सानो रकमले न्यूनतम जीवन पनि चल्न नसक्ने भन्दै यो गरिबीमाथिको उपहास भएको टिप्पणी गरे।

उनले राज्यले नागरिकको सुरक्षा गर्नुपर्ने भन्दै बिना तयारी गरिएको कदमप्रति सरकारको आलोचना गरे।