बकर इदले राष्ट्रिय एकता र सद्भाव सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल

बकर इदले राष्ट्रिय एकता र सद्भाव सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल ले विविधताबीचको एकताले राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।

मुस्लिम समुदायको महान् पर्व इद–उल–अज्हा (बकर इद) का अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेका हुन् ।

उनले बकर इदले मातृभूमिसँगको आत्मीय सम्बन्ध अझ मजबुत बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रपतिले मुस्लिम समुदायले यस पर्वमा आपसी रिस, राग र द्वेष बिर्सेर खुसी, सद्भाव र शुभकामना आदानप्रदान गर्ने परम्पराले सामाजिक एकता सुदृढ बनाउन सहयोग पुग्ने उल्लेख गरेका छन् । पर्वका अवसरमा मुस्लिम धर्मावलम्बीले इदगाह, मस्जिद तथा खुला स्थानमा पुगेर विशेष नमाज अदा गर्ने तथा हर्षोल्लासका साथ पर्व मनाउने चलन रहेको उनले बताएका छन् ।

उनका अनुसार विश्वास, समर्पण र समाज सेवाको सन्देश दिने यस्ता चाडपर्वले धार्मिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र सहअस्तित्वको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्छन् ।

राष्ट्रपति पौडेलले बकर इदले प्रेम, करुणा, त्याग र राष्ट्रिय एकताको भावना अझ प्रगाढ बनाउँदै “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सबैलाई प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।