

काठमाडौं । साविक विजेता रोयल च्यालेन्जर्स बैंग्लुरुले गुजरात टाइटन्सलाई ९२ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा स्थान बनाएको छ। धर्मशालामा मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा बैंग्लुरुले दिएको २५५ रनको विशाल लक्ष्य पछ्याएको गुजरात १९.३ ओभरमा १६२ रनमै अलआउट भयो।
गुजरातका राहुल तेवातियाले ४३ बलमा आठ चौका र चार छक्कासहित ६८ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। जस बटलरले २९ तथा साइ सुदर्शनले १४ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ बैंग्लुरुका ज्याकोब डफीले तीन विकेट लिए। भुवनेश्वर कुमार, रसिख सलाम र क्रुनाल पाण्ड्याले समान दुई–दुई विकेट लिए भने जोश हेजलउडले एक विकेट हात पारे।यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लुरुले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २५४ रन बनाएको थियो।
बैंग्लुरुका कप्तान रजत पाटिदारले विस्फोटक ब्याटिङ गर्दै ३३ बलमा नौ छक्का र पाँच चौकासहित अविजित ९३ रन बनाए। २० रनमा जीवनदान पाएका उनले त्यसपछि आक्रामक पारी खेलेका थिए।
विराट कोहली र क्रुनाल पाण्ड्याले समान ४३ रन जोडे भने वेंकटेश अय्यरले १९ रन बनाए। जितेश शर्माले १५ रनमा अविजित रहे। गुजरातका कगिसो रबाडा र जेसन होल्डरले समान दुई विकेट लिए भने प्रसिद्ध कृष्णाले एक विकेट हात पारे।
योसँगै बैंग्लुरु लगातार दोस्रो तथा समग्रमा पाँचौँ पटक आईपीएलको फाइनलमा पुगेको छ। यसअघि टोली सन् २००९, २०११ र २०१६ मा उपविजेता बनेको थियो। पराजित गुजरातले भने फाइनल पुग्ने अर्को अवसर पाउनेछ। अब उसले दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीच हुने इलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।