

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले संविधान संशोधनको बहस चलिरहेका बेला उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बास्कोटाले हालको संघीय संरचनामा जिल्ला समन्वय समिति (जिसस) आवश्यक नरहेको बताएका छन्। उनले संविधान संशोधनमार्फत केन्द्र र पालिकामा आधारित संरचना कायम गर्नुपर्ने उल्लेख गरेका छन्।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघि संघीयता खारेजको कुरा उठाएको स्मरण गर्दै अब संविधान संशोधनबारे स्पष्ट धारणा दिनुपर्ने बताएका छन्। “संशोधन गर्ने हो भने केन्द्र र पालिका मात्र रहने व्यवस्था होस्,” उनले उल्लेख गरेका छन्।
बास्कोटाले राष्ट्रिय सभालाई १०५ सदस्यीय बनाउनुपर्ने र पूर्ण समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने धारणा पनि राखेका छन्। उनका अनुसार महिला र पुरुषको प्रतिनिधित्व ५०–५० प्रतिशत हुनुपर्छ र उपराष्ट्रपति नै राष्ट्रिय सभाको सभाध्यक्ष हुने व्यवस्था गर्न सकिन्छ।
त्यस्तै उनले प्रतिनिधिसभाको समानुपातिक प्रणाली खारेज गरी प्रत्यक्ष निर्वाचन प्रणालीमा महिला–पुरुष सहभागिता ६०–४० प्रतिशत अनिवार्य गर्नुपर्ने तर्क गरेका छन्।