रेसुङ्गा विमानस्थलबाट अब सातामा चार दिन उडान, भाडा पनि वृद्धि

रेसुङ्गा विमानस्थलबाट अब सातामा चार दिन उडान, भाडा पनि वृद्धि

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई उडान सञ्चालन हुने भएको छ। नेपाल वायुसेवा निगमले काठमाडौँ–गुल्मी उडानका लागि आइतबार, मङ्गलबार, बिहीबार र शनिबारको नयाँ तालिका सार्वजनिक गरेको हो।

यसअघि सातामा तीन दिन मात्र उडान हुँदै आएकोमा ट्विनअटर जहाजको मर्मतसम्भारपछि उडान संख्या बढाइएको रेसुङ्गा स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए। उडान थपिएसँगै भाडादरमा पनि वृद्धि गरिएको उनले बताए।

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै काठमाडौँ–रेसुङ्गा हवाई यात्राको भाडा समायोजन गरिएको हो। नयाँ दरअनुसार काठमाडौँबाट रेसुङ्गा आउन रु १० हजार ९०२ र रेसुङ्गाबाट काठमाडौँ जान रु १० हजार ७०२ निर्धारण गरिएको छ। यसअघि भने काठमाडौँबाट रु ७ हजार ५०० र रेसुङ्गाबाट रु ७ हजार ३०० भाडा रहेको थियो।

यात्रुको चाप उच्च रहँदै आएको यस विमानस्थलमा इन्धन मूल्यवृद्धिको प्रभावले भाडामा रु ३ हजार ४०२ सम्म वृद्धि गरिएको स्टेशन प्रमुख थापाको भनाइ छ। हाल १८ सिट क्षमताको ट्विनअटर जहाजमार्फत सेवा सञ्चालन भइरहेको छ।

पछिल्लो पाँच महिनादेखि मौसम अनुकूल रहेसम्म नियमित उडान भइरहेको र बिहानको समयमा मात्र उडान गरिने व्यवस्था रहेको जनाइएको छ। आइतबार काठमाडौँबाट बिहान ८ः०५ बजे र रेसुङ्गाबाट ९ः०५ बजे उडान हुन्छ भने मङ्गलबार, बिहीबार र शनिबार काठमाडौँबाट ६ः१५ बजे र रेसुङ्गाबाट ७ः१५ बजे उडान हुने तालिका छ।

हवाई सेवा सुरु भएपछि गुल्मीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ। लामो १६–१८ घण्टाको स्थलयात्रा छोटिएर अब करिब ४५–५० मिनेटमै राजधानी पुग्न सकिने भएको यात्रुहरू बताउँछन्। नेपाल वायुसेवा निगमले २०८० वैशाख २९ गतेदेखि यहाँ व्यावसायिक उडान सुरु गरेको थियो।