

काठमाडौं । कामिरिता शेर्पा ले ३२औँ पटक सफलतापूर्वक सगरमाथा आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान तोडेका छन् ।
सोलुखुम्बुको थामे निवासी ५६ वर्षीय शेर्पाले आज बिहान १०ः१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्न सफल भएको जानकारी दिइएको छ । उनी सेभेन समिट ट्रेक मार्फत आरोहणमा सहभागी भएका थिए ।
सन् १९९४ मा पहिलो पटक सगरमाथा आरोहण गरेका कामिरिताले त्यसयता निरन्तर रूपमा विश्व पर्वतारोहण क्षेत्रमा आफ्नो प्रभुत्व कायम राख्दै आएका छन् ।
सेभेन समिट ट्रेकले सामाजिक सञ्जालमार्फत जारी गरेको सन्देशमा कामिरिता शेर्पालाई नेपालका राष्ट्रिय पर्वतारोहण नायक तथा सगरमाथाकै जीवित प्रतीकका रूपमा वर्णन गरेको छ । कम्पनीले उनको साहस, अनुभव र निरन्तरताले नयाँ पुस्तालाई प्रेरणा दिइरहेको उल्लेख गर्दै सुरक्षित रूपमा बेस क्याम्प फर्किन शुभकामना व्यक्त गरेको छ ।