मानव विकासक्रम र मानवता

मानव विकासक्रम र मानवता

-शोभाकर पराजुली-

मानव विकास क्रमलाई समयसारिणीको आधारमा विवेचना र व्याख्या गर्न अत्यन्त कठिन हुन्छ र यस माध्यमबाट सम्पूर्ण मानव जातिलाई समेट्न पनि अप्ठेरो हुन्छ । मानव विकासको क्रमसँगै अपवाद बाहेक मानिसहरू केही हदसम्म वा धेरै हदसम्म स्वार्थी भएको भए पनि व्यक्तिको अगाडि समाज बलियो हुने हुँदा भनेको बेइमानी नगर्नु र त्यही परिवेश अनुसार उदार व्यवहारले प्रश्रय पाउनु हो । उदार व्यवहारकै सामाजिक प्रश्रयका कारण दास प्रथाको अन्त्य भयो । त्यो भन्दा पहिला कुनै समूह अथवा परिवारका पशुपंक्षी अन्नहरू नलुटिने वातावरण बन्यो । सामन्तवादको स्वभाविक अन्त्य वा सुधार भने उद्योगधन्दाको विकास, व्यापारको प्राचुर्यताले गर्दा मानिसहरूको चलायमानता तथा अन्तरक्रिया समेतका कारणले एवं मानवको वृद्धि र विवेकमा परिष्कारले गर्दा पनि भयो । कतिपय कम्युनिष्ट पार्टीले विजय प्राप्त गरेका देशहरूमा क्रान्तिको माध्यमले पनि सामन्तवादको अन्त्य भयो । समाज विकासको क्रमलाई हेर्दा भने स्वभाविक रूपमा सामन्तवादको अन्त गर्ने जापान, बेलायत आदि देशहरूले समाज विकासलाई धेरै अगाडि बढाएर कम्युनिष्ट देशहरूलाई पछाडि छोडिदिए । आर्थिक समानता वा न्यूनतम आवश्यकता परिपूर्तिको मापदण्डमा पनि कम्युनिष्ट देशहरूभन्दा लोकतान्त्रिक देशहरू धेरै हदसम्म अगाडि देखिए । समाज विकासक्रमलाई अगाडि बढाउनु पर्छ भन्ने सिद्धान्त रहने एकदलीय व्यवस्थाका समर्थकहरूका देशहरूमा भन्दा लोकतान्त्रिक परिपाटी भएका देशहरूमा विकास क्रम धेरै छिटो भएको देखियो ।

मानव विकासको प्रारम्भिक अवस्थामा वाद, विचार र विवादको आधारमा मानसिकता बनाई काम गर्ने प्रवृत्तिको अहिलेको जस्तो विकास नभएको हुँदा विकासमा त्यति ठूलो वैचारिक आधारले निर्मित विविधता थिएन तर विकासको त्यही स्तरको वाद, प्रतिवाद र संवादको प्रक्रिया भने थियो । वाद, प्रतिवाद र संवादको व्यवस्थित क्रम वा विकासले नै मानव समाजलाई व्यवस्थित रूपमा विकसित गर्न सकेको हो । जुन समयमा मानव मानव भन्नका लागि उपयुक्त भयो त्यसै समयमा त्यही हैसियत र हदको मानवताको पनि विकास भयो । तसर्थ मानव विकासको प्रथम् खुट्किलालाई मानवीयताको पनि शुरुवात भएको अवस्था मान्न सकिन्छ । जंगली अवस्थाको मानिसले आफ्नो क्षेत्राधिकारका लागि आफ्नो समूह भित्रै निश्चित नियमहरू बनाउँथ्यो । अर्काे झुण्डमाथि विजय प्राप्त गरेर पक्रिएको पराजितलाई उसको बिलौना सुनेको आधारमा उसलाई नमारी आफ्नो झुण्डमा तल्लो हैसियतमा भने पनि समाहित गर्ने त्यो समयको मानवता थियो । क्रमिक रूपमा मानिस खेतीपातीको युगमा प्रवेश गर्दा जंगली युग र खेतीपातीको युग केही समय सँगसँगै जस्तो पनि चल्यो । अलग झुण्डका पराजितहरू दास बने । वास्तवमा अहिलेका आर्थिक रूपका विजयीहरू श्रमिकहरूलाई काम लगाएर प्रशस्त पैसा कमाएर आराम गर्छन् भने त्यतिबेला पराजितहरूबाट खेती र पशुपालन सम्बन्धी काम गराएर विजयीहरू आराम गर्दथे । त्यसलाई खेतीपातीको शुरुवातको युगमा आधारित श्रम प्रणाली भन्न सकिन्छ । क्रमशः आवश्यकता भन्दा बढी उत्पादन गर्नेहरूले उत्पादित सामाग्री बेच्ने, पेशाको विभाजन गरेर काम गर्ने, धेरै जमिन हुनेहरूले विभिन्न शर्तमा स्वतन्त्र व्यक्तिहरूलाई खेती गर्न दिनुपर्ने स्थितिको विकास भयो । त्यसो हुँदा दासलाई जस्तो सिधा नियन्त्रणमा राख्न नसकिने अवस्थाको श्रृजना भयो । धेरै जग्गा जमिन हुने मानिसहरू ठूला कहलाइन थाले । यो अवस्थालाई अतिरिक्त सम्पत्तिको महत्वको शुरुवातको युग भन्न सकिन्छ । यसैगरी पेशाको विभाजन हुँदै जाँदा अलग अलग मानिसहरूसँग आफूलाई चाहिनेभन्दा बढी अलग अलग प्रकारका सामाग्रीहरू हुन थाले । ती सामानलाई विक्री गर्नुपर्ने भयो । व्यापारको विकासको क्रमसँगै मानिसहरूले फुर्सदको समयमा कामको समयलाई बचत हुन सहयोग हुने सामानहरू बनाउन थाले । क्रमिक रूपमा सम्पत्ति युग उद्योग व्यवसायको युगमा पदार्पण ग¥यो । उद्योग व्यवसायको विकाससँगै श्रमिक र उद्योगी बने । जति बढी विकास भयो त्यति उत्पादन वृद्धि भयो । सुविधाहरू थपिए । मानव जीवनमा सजिलोपन आयो । पूँजीपतिहरू कम हुँदै गए र मजदुरहरू बढ्दै गए ।

यो विकास क्रममा आधुनिक राज्यको विकास भयो । विभिन्न प्रकारका संयोगले राज्यहरू निर्माण भए । राज्यले पहिला असिमित अधिकार प्राप्त संस्थाको रूपमा काम ग¥यो ।पूँजीवादको विकाससँगै स्वभाविक रूपमा राज्यहरू पनि लोकतान्त्रिकीकरणमा अग्रसर भए । क्रमैसँग महिलाहरू, विभिन्न जातिहरू, गरीबहरू, तथा मजदुरहरूका हितकारी कामहरू पनि हुन थाले । माक्र्सवादको उदयसँगै कम्युनिष्टहरूले समाजवाद र समानताको नाउँमा एकदलीय तानाशाही व्यवस्थालाई अगाडि ल्याए । उनीहरूले एकप्रकारको प्रणाली स्थापना गरिसकेको हुँदा त्यस व्यवस्थामा प्रशस्त विकृतिहरू देखिएका थाहा भए पनि उनीहरू सत्ता छोड्न वा सुध्रिन तयार भएनन् । त्यही कारणले गर्दा पूँजीवादी देशहरूमा समाज विकासको क्रममा उत्पादनको अत्यधिकता भएपछि हुनुपर्ने वितरणको समानता ढिलो गतिमा हुन पुग्यो । कम्युनिष्टहरूले समाजवादलाई नै बद्नाम गरिदिए । समाजवादीहरूले चाहेको समानता कम्युनिष्टहरूको एकदलीय तानाशाहीको दलदले हिलोको छिटाले कुरूप बन्ने संभावना बढ्यो । लोकतन्त्रलाई पूँजीवादीहरूले मूलभूत रूपमा आफ्नो राजनैतिक प्रणाली बनाएको हुँदा गरीब मजदूरहरूलाई राजनैतिक प्रणालीमा समावेश त गरियो तर कम्युनिष्टहरू र समाजवादीहरू उस्तै उस्तै हुन् भन्ने भ्रमले गर्दा मजदूरहरूमा तानाशाही व्यवस्थामा उनीहरूको हित हुँदैन भन्ने प्रष्ट भएको हुँदा एकातिर गैर कम्युनिष्ट समाजवादीहरू पछाडि परे भने कथित समानता दिन्छु भन्ने कम्युनिष्टहरू तानाशाह हुन्छन् र समानता दिँदैनन् भन्ने प्रष्ट भएको हुँदा पूँजीवादी व्यवस्थाले आफुलाई द्रुत गतिमा सुधार गर्दै जुन गतिको समानतामा जानुपर्ने हो त्यो गति लिन सकेन ।

कम्युनिष्टहरूको यस चरित्रले गर्दा समाजवादीहरू बलिया हुन सकेनन् । पूँजीवादीहरूले फाइदा लिए । त्यति हुँदाहुँदै पनि कम्युनिष्ट सरकारमा भन्दा समाज विकासको गति पूँजीवादी सरकारमा द्रुत गतिले भयो । यदि विश्वमा कम्युनिष्टहरू सत्तामा नआएको भए । अमेरिका जस्ता पुँजीवादी देशहरूले मजदुरहरूलाई आफ्नो पक्षमा लिने तथा समानता दिनेहरूले दिन्छु भनेको समानता धोखा हो भन्ने प्रमाणित गरेर देखाउन सक्ने थिएनन् । मजदूरहरू तथा मानतावादीहरूले स्वभाविक रूपमा लोकतान्त्रिक किसिमले समाजवादी विचारमा गोलबन्द भैं समाज विकासलाई अगाडि बढाउन राजनैतिक दलहरूलाई प्रेरित गर्ने थिए । पश्चिमी राष्ट्रहरूमा अहिलेको भन्दा आर्थिक समानताको स्तर धेरै उच्च हुने थियो । समाज रूपान्तरणको क्रम पनि धेरै अगाडि बढिसकेको हुने थियो । अमेरिकाको डेमोक्रेटिक पार्टी, बेलायतको लेबर पार्टी समेतका विभिन्न देशका राजनैतिक दलहरूले सुधारका कार्यक्रमहरूलाई अझ अगाडि बढाउने मौका पाउने थिए । ति देशका गैर समाजवादी पार्टीहरू पनि समानताका पृष्ठपोषक बन्नैपर्ने अवस्था आउँथ्यो । उदाहरणको लागि कुनै देशको समाजवादी दलले चुनाव जित्दा सामाजिक हितमा कुनै निश्चित रकम खर्च गर्ने भनेमा अर्काे पटकको चुनावमा उसले अझ बढी खर्च गर्ने हुन्छ तर विपक्षी दलले भने भैरहेको खर्चलाई घटाउँदैन । समाजवादी दल र पूँजीवादी दल प्रतिष्पर्धामा भएका देशहरूमा पनि लोकतान्त्रिक परिपाटी अन्तर्गत काम हुँदा एउटा चुनावमा समाजवादी दलले क्रान्तिकारी कार्यक्रम ल्याएर चुनाव जितेमा अर्काे पटक त्यो पार्टीले अझ क्रान्तिकारी कार्यक्रम ल्याउँछ । प्रतिष्पर्धामा रहेको पूँजीवादी दलले पछिल्लो क्रान्तिकारी कदमको विरोधसम्म गर्ने गर्छ तर अघिल्लो कार्यक्रम लागू भैसकेको हुँदा त्यसको भने उसले समर्थन गरिरहेकै हुन्छ । यस अर्थमा लोकतान्त्रिक देशमा समाजवादीहरूले विकास र प्रगतिको नयाँ दिशा पहिल्याउँदै अगाडि बढ्छन्, गोरेटो बनाउँछन् । पूँजीवादी राजनैतिक दलहरूले त्यसलाई पक्की बनाउँछन् । कतिपय अपवादहरूलाई छोडेर तत्कालीन सोभियत रुसले तानाशाही पाराले कथित रूपमै भए पनि अर्थात् कागजमै मात्र भए पनि विकासको गोरेटो त देखायो तर पक्की बाटो बनाउन पट्टी कहिल्यै ध्यान दिएन । कच्ची बाटोलाई ठूलो वर्षाले विगारी दियो । कागजी बाटोलाई मजदूरहरूका आँसुले भिजाइदियो ।

विकासको यो अवस्था सचमुच रूपमा आर्थिक विकासको तीव्रताको युग हो । आर्थिक विकासको तीव्रताको चरण अझै पूरा भैसकेको छैन । आधा भू–भाग त धेरै पछाडि छ ।आर्थिक प्रगतिबाट वितरणको प्रणालीमा न्यूनतम आवश्यकता परिपूर्ति हुने गरेर सुधार भैसकेपछि नयाँ चरणको शुरुवात हुन्छ । त्यस चरणमा वितरण प्रणालीको महत्व हुने हुँदा त्यसलाई वितरणको युग मान्न सकिन्छ । आर्थिक विकास पनि पहिलाको आर्थिक विकासको कारणले स्वभाविक रूपमा अझ अगाडि बढिरहेको हुन्छ । उत्पादनको अधिकता अझ बढ्दै जान्छ । वैज्ञानिक प्रविधिको विकास भैसकेको हुँदा वितरण प्रणाली कमजोर हुँदैन । श्रम अत्यन्त व्यवस्थित हुन्छ । यसै क्रममा विश्व मानवको धारणाको विकास पनि सँगसँगै स्वभाविक रूपमा हुँदै जाने हुँदा राष्ट्रहरूको अस्तित्व रहे पनि उनीहरूको अधिकारभन्दा बढी अधिकार विश्व संस्थाको हुन्छ । विश्वलाई नै आधार मानेर सम्पूर्ण क्रियाकलापहरू अघि बढाउने मान्यताको शुरुवात हुन्छ । त्यो अवस्था मानवतावादको अवस्था हो । यस अवस्थामा आर्थिक रूपमा विश्व व्यवस्थित बनेको हुन्छ । आर्थिक रूपमा उत्पादनको प्रचुरता, अत्यधिक विकास, वितरणमा समानता मात्र समाजवाद होइन । मानिस वैचारिक प्राणी हो । यी कार्यलाई पूरा गर्न मानसिक रूपमा पनि मानव जातिलाई तयार गरिँदै लगिनुपर्छ । लैंगिक, जातिय समेतका भेदभाव बिना मानव मानव एक हौं । सबै धर्म मानवलाई एक मान्ने र समानतालाई प्रश्रय दिने एवं नयाँ नयाँ संभावनालाई स्वीकार गर्ने हदसम्म मात्र भएमा समाजलाई सहयोग गर्छन् भन्ने सोचाई पनि विकसित हुन सक्नुपर्छ ।

समानतावादको चरणमा राष्ट्र, समूह, समुदाय, लिंगभेद, धार्मिक भिन्नता, जातियता, भाषिक भिन्नता आदि क्रमशः समाप्त हुनेछन् । विश्वयापी मापदण्ड नबुझ्ने, विश्वव्यापी संचारयुक्त संकेत र भाषा नबुझ्नेहरूको हैसियत अहिलेका मातृभाषा बाहेक अरु नजान्ने नेपालीहरूको जस्तो हुनेछ जो धेरै पछाडि पर्नेछन् । संभवतः यो अवस्था नै आउने छैन । धार्मिक असहिष्णुताका जहरहरू, जातियताका उन्मादहरू, एकपक्षीय राजनीतिक सोच राख्ने नवसामन्तहरूले विश्वलाई असहिष्णुको दिशामा लागेर ध्वस्त पार्ने वा मानवकै लागि अयोग्य बनाउने झीनो संभावना भए पनि त्यसलाई परास्त गर्दै अगाडि बढ्न सकेमा प्रगति, समृद्धि र समानतायुक्त मानवीय समाज नै आउँदो समाजको भविष्य हो । समाजवादीहरू त्यसका पृष्ठपोषक र पहरेदार हुन् ।

एउटा निश्चित लक्ष्यमा पुगेर थकाई मार्ने कल्पना गर्ने कार्य कुनै पनि वादलाई आफ्नो लक्ष्य मान्नेहरूले गर्न सक्छन् । तर समाजवादीहरूका लागि भने वाद आफैंमा लक्ष्य हुँदै होइन । वाद त विकास र समानताको तालमेल गर्ने, प्रत्याभूति गर्ने समेतको एक संभावित उपयुक्त माध्यम हुन सक्छ । यो लक्ष्य पूरा गर्नका लागि एक दृढ समाजवादीले केही राम्रा कुरा कम्युनिष्टहरूबाट पनि लिन सक्छ । माक्र्स, लेनिन, माओ, गान्धी आदिबाट लिन सक्छ । उपयुक्त भए हलो जोत्दै गरेको श्रमिकसँग पनि लिन सक्छ । उसँग विवेकपूर्ण निर्णय गर्ने क्षमता हुन्छ, अन्धभक्त भएर कुनै वादलाई च्यापेर हिड्ने कायरता हुँदैन, परमुखीपन हुँदैन । महामानव बी.पी. कोइरालाले समाजवादी राजनीतिज्ञहरूलाई संकेत गर्दै राजनीतिज्ञहरूले विचार र विवेकका ढोकाहरू सँधै खुला राख्नुपर्ने धारणा राख्नुभएको छ ।

मानवता भनेको मानवता मात्रै होइन अझ बढी मानवताको बिना पूर्वाग्रह र इमान्दारीसाथ खोज पनि हो । हरेक युगको अझ बढी मानवताको खोज नै विकास र समानता हो । त्यो नै सम्पूर्ण समाजवादीहरूको लक्ष्य हो । मानव विकासको गति मानव जाति रहेसम्म अगाडि बढीरहन्छ । अमानवीय विश्वलाई तहसनहस पार्न नसकेमा मानवको भविष्य संधैभरी छ । मानव जहिलेसम्म रहन्छ, उ विकसित हुँदै जान्छ । नयाँ विचारहरू आउँदै रहन्छन् । तीनलाई उपयुक्तताको आधारमा स्वीकार गरिँदै जानुपर्छ । यसो भयो भने हामी कल्पना गर्न सक्छौं– पृथ्वी र सूर्य सेलाए पनि ब्रम्हाण्डको अर्काे उपयुक्त ठाउँमा मानिस जान सक्नेछ वा ब्रम्हाण्डका अन्य स्थानका मानिसहरूसँग तालमेल गर्न सक्ने वा अन्य हामीले अहिले नसोचेका राम्रा विकल्पहरूको प्रयोगले मानव जातिलाई अझ परिष्कृत बनाउनेछ । मेरा मित्र दामोदर पौडेलले भन्नुभयो– ‘‘म कम्युनिष्ट हुँ र म कम्युनिष्ट होइन । म यस अर्थमा कम्युनिष्ट हँु कि अहिलेसम्म आर्थिक विकासको क्रमलाई व्यवस्थित रूपमा व्याख्या र विश्लेषण साम्यवादी विचारले नै दिन सकेको छ जसमा म सहमत छु तर कम्युनिष्टहरूका लागि कम्युनिज्म लक्ष्य हो, मेरो लागि भने कम्युनिज्म समानताको लागि अहिले देखिएका मध्ये लोकतान्त्रिक माध्यम अपनाइएमा र समय अनुसार सुधार गरिएमा सबैभन्दा उपयुक्त साधन हो ।’’ उहाँको यो भनाईमा एक गैर कम्युनिष्ट समाजवादीले समर्थन जनाइरहन सक्ने यथेष्ट स्थान छ ।