

काठमाडौं । सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका स्थानीयबासीसँग १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।
मन्त्री घिसिङ आइतबार बिहान प्रत्यक्ष रूपमा बञ्चरेडाँडा पुगेका थिए। उनले स्थानीय बासी र जनप्रतिनिधिसँगको छलफलपछि पहिले भएका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका हुन्।
उनको आश्वासनपछि स्थानीयहरूले चार दिनदेखि रोकिएको फोहोर विसर्जन खुलाउने निर्णय गरेका छन्।
ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार मन्त्री घिसिङले हालसम्म भएका सहमति १५ दिनभित्र पूरा गर्ने प्रतिज्ञा गरेका हुन्। अध्यक्ष तामाङले भने, “मन्त्रीज्यूले गरिएका सहमति तोकिएको अवधिभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो। यदि त्यस अवधिभित्र पूरा नभए, विरोध गर्ने हाम्रो अधिकार रहन्छ भन्ने पनि उहाँले स्पष्ट भन्नुभयो।”
यसअघि, स्थानीयले माग सुनुवाइ नभएको भन्दै शुक्रबारदेखि फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फाल्न अवरोध गर्दै आएका थिए।