

गोलबजार (सिरहा) । जनता समाजवादी पार्टी नेपाल (जसपा) सिरहा क्षेत्र नं. ३ का उम्मेदवार अशेश्वर यादव गैरकानुनी गतिविधिको आरोपमा पक्राउ परेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधिमा नगदसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र२–०२–००१च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२:३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा रोकेको थियो। जाँचका क्रममा गाडीबाट रु ४ लाख ८७ हजार नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।
नियन्त्रणमा लिइएकाहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
यादव तत्कालीन संघीय समाजवादी फोरमबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा सिरहा नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए।