

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैंलाई लक्षित गर्दै सुकिला नोट सटहीको व्यवस्था गर्ने भएको छ। बैंकका अनुसार आगामी भदौ २९ गतेदेखि असोज १० गतेसम्म देशभरका विभिन्न स्थानमा सुकिला नोट सटही सुविधा उपलब्ध हुनेछ।
राष्ट्र बैंकले गत वर्षदेखि नयाँ नोट सटही नगरी केवल सुकिला नोट मात्रै सटही गर्दै आएको छ। गत वर्षको दशैंमा पनि यही व्यवस्था लागू गरिएको थियो।
सुकिला नोट सटही सुविधा नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथलीसहित विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयमा उपलब्ध हुनेछ।
यस्तै, राष्ट्र बैंक बाहेक देशभरका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमार्फत पनि सर्वसाधारण र वित्तीय संघसंस्थाले नोट सटही गर्न सक्ने व्यवस्था गरिएको छ।