काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच जारी युद्ध अन्त्य गर्न दुबै देश युद्धविराममा सहमत भएको घोषणा गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै युद्धविराम केही घण्टाभित्र लागू हुने जनाएका छन्। सहमति अनुसार सुरुमा इरानले युद्धविराम घोषणा गर्नेछ भने १२ घण्टापछि इजरायलले पनि त्यसमा सहभागी हुनेछ। त्यसपछि २४ घण्टा भित्र दुबै पक्षले युद्धको औपचारिक अन्त्यको घोषणा गर्ने तयारी गरिएको छ।
राष्ट्रपति ट्रम्पले दुबै मुलुकले धैर्य, साहस र समझदारी देखाएको भन्दै प्रशंसा गरेका छन्। उनले यो सहमतिले दीर्घकालीन विनाशबाट सम्पूर्ण मध्यपूर्व क्षेत्रलाई जोगाउने विश्वास पनि व्यक्त गरेका छन्।
“ईश्वरले इजरायल, इरान, मध्यपूर्व, संयुक्त राज्य अमेरिका तथा सम्पूर्ण विश्वलाई आशिर्वाद दिनुहोस्,” भन्दै उनले सबैलाई एकताको सन्देशसमेत दिएका छन्।
तर हालसम्म इजरायल र इरान दुवै मुलुकबाट युद्धविरामबारे आधिकारिक प्रतिक्रिया आएको छैन। त्यस्तै, अमेरिकी राष्ट्रपतिको कार्यालय र रक्षा मन्त्रालयले पनि औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।





