

वासिङ्टन डीसी : इरान र इजरायलबीच जारी सैन्य द्वन्द्वको बीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका युद्धमा सहभागी हुने नहुने विषय अझै अनिश्चित रहेको बताएका छन्। यद्यपि अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ट्रम्पले हस्तक्षेपको निर्णय अनुमोदन गरिसकेका छन्, तर औपचारिक घोषणा भने गरिएको छैन।
वाल स्ट्रिट जर्नलले पनि ट्रम्पको निर्णयबारे प्रारम्भिक जानकारी सार्वजनिक गरेको थियो। ट्रम्पले भने आक्रमण सुरु भएमा इरान वार्तामा आउन बाध्य हुने दाबी गरेका छन्।
यसैबीच, इरान र इजरायलबीच बुधबार राति पुनः आक्रमणहरू भएका छन्। इरान, रूस, पाकिस्तान, अल्जेरिया र चीनले जारी द्वन्द्वबारे छलफल गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा आपतकालीन बैठकको प्रस्ताव गरेपछि अमेरिका शुक्रबार उक्त बैठक बोलाउने तयारीमा छ।
ट्रम्पले हालै सुरक्षा निकायसँग छलफल गरेको जानकारी दिइएको छ। उनले आफूले लिने कदमबारे सार्वजनिक नगरे पनि इरान अहिले कठिन अवस्थामा रहेको र वार्ता नै इरानका लागि सहज मार्ग हुने बताएका छन्। तर इरानले भने अमेरिका वा इजरायलसँग कहिल्यै नझुक्ने र युद्धविराम सम्भव नभएको स्पष्ट अडान लिएको छ।
युद्ध चर्किंदै जाँदा इरानका सर्वोच्च नेताले चेतावनी दिएका छन् कि यदि इजरायली आक्रमणमा अमेरिका पनि संलग्न भयो भने त्यसको मूल्य अपूरणीय हुनेछ।
यता, पछिल्ला तीन दिनमा अमेरिकाले कम्तीमा ३० सैन्य ट्याङ्कर विमान युरोपतर्फ सारिएको छ। यी विमानहरू लडाकु जेट र बमवर्षकहरूलाई इन्धन आपूर्ति गर्न प्रयोग हुने भएकाले युद्ध तयारीका संकेतस्वरूप लिइएको बताइएको छ।
इजरायलले गत शुक्रबार इरानको आणविक क्षेत्रमा गरेको आक्रमणपछि सुरुआत भएको यो द्वन्द्वले अमेरिकी सैन्य गतिविधिमा नयाँ जिज्ञासा र शंका जन्माएको छ।