७३ वर्ष पुरानो प्रतिबन्ध यथावत् : साउदी अरबमा मदिरा बिक्री अझै निषेधित रहने

७३ वर्ष पुरानो प्रतिबन्ध यथावत् : साउदी अरबमा मदिरा बिक्री अझै निषेधित रहने

रियाद — साउदी अरबमा ७३ वर्षदेखि लागु गरिएको मदिरामाथिको प्रतिबन्ध हट्नेबारे हालै फैलिएको खबर झुटो साबित भएको छ। साउदी अधिकारीहरूले स्पष्ट पारीसकेका छन् कि देशमा मदिरा बिक्री खुला गर्ने कुनै योजना छैन।

केही अन्तर्राष्ट्रिय मिडियाले सन् २०३४ को फिफा विश्वकपलाई लक्षित गर्दै साउदी सरकारले विदेशी पर्यटकलाई लक्षित गरी मदिरा बिक्री खोल्न लागेको दाबी गरेका थिए। यस्तै एक वाइन ब्लगमा प्रकाशित सामग्रीले उक्त खबरलाई अझ फैलाएको थियो।

तर साउदी अधिकारीहरूले ती समाचारलाई खण्डन गर्दै कुनै प्रकारको नीति परिवर्तन नगरेको बताएका छन्।

हाल साउदीले पर्यटक आकर्षण र अर्थतन्त्र विविधीकरणको प्रयासस्वरूप केही सामाजिक र कानुनी सुधारहरू गरे पनि मदिराजस्ता इस्लामिक मान्यतासँग गहिरो रूपमा जोडिएका विषयमा भने अडिग रहने स्पष्ट संकेत दिएको छ।

खाडी मुलुकहरूमध्ये हाल कुवेत र साउदी अरब मात्रै यस्ता राष्ट्र हुन् जहाँ मदिरा सम्पूर्ण रूपमा प्रतिबन्धित छ। यसैले, ७ दशकभन्दा लामो समयदेखि साउदीमा कायम रहँदै आएको यो नीति अझै परिवर्तन नहुने भएको छ।