कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिले आज जिम्मेवारी सम्हाल्दै, सानेपामा शपथ ग्रहण

कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिले आज जिम्मेवारी सम्हाल्दै, सानेपामा शपथ ग्रहण

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आज कात्तिक १२ गतेदेखि औपचारिक रूपमा पार्टी सञ्चालनको जिम्मेवारी सम्हाल्ने भएको छ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो २ बजे आयोजना हुने समारोहमा सभापतिबाहेक नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन्। सभापति गगनकुमार थापाले यसअघि नै शपथ लिइसकेका छन्।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार शपथ ग्रहणसँगै नवनिर्वाचित नेताहरूलाई प्रमाणपत्र वितरण गरी आजै पदबहाली गराइनेछ।

गत असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न महाधिवेशनको अन्तिम नतिजा असोज ३० गते सार्वजनिक गरिएको थियो। महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा तथा महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डिला संग्रौला (पन्त) निर्वाचित भएका छन्।

नयाँ कार्यसमितिले जिम्मेवारी सम्हालेपछि आजै सानेपामा पहिलो बैठकसमेत बस्ने तयारी छ। बैठकमा महाधिवेशन सफल बनाउन सहयोग गर्ने प्रतिनिधि, निर्वाचन समिति, सुरक्षाकर्मी तथा सञ्चारकर्मीलाई धन्यवाद दिने र पार्टीका जिल्ला तथा प्रदेश अधिवेशनबारे छलफल गर्ने बताइएको छ।