युक्रेनमाथिको भीषण रुसी आक्रमणमा अमेरिकाको मौनता खतरनाक : राष्ट्रपति जेलेन्स्की

युक्रेनमाथिको भीषण रुसी आक्रमणमा अमेरिकाको मौनता खतरनाक : राष्ट्रपति जेलेन्स्की

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको पछिल्लो हवाई आक्रमणमा अमेरिकाले स्पष्ट र समयमै प्रतिक्रिया नजनाएको भन्दै कडा आलोचना गर्नुभएको छ। उहाँका अनुसार अमेरिकी मौनताले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अझै साहसी बनाइरहेको छ।

जेलेन्स्कीले अमेरिकी नेतृत्वको चुप्पीलाई “गम्भीर विषय” भन्दै चिन्ता व्यक्त गर्नुभएको हो। मस्कोले युक्रेनमाथि हालसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको जनाइएको छ।

रुसले एकै रातमा ३ सय ६७ ड्रोन र मिसाइल प्रयोग गर्दै हमला गरेको थियो। युक्रेनी अधिकारीहरूले दिएका विवरण अनुसार, तीमध्ये २ सय ९८ ड्रोन र ६९ क्रुज तथा ब्यालिस्टिक मिसाइल थिए।

उक्त आक्रमणमा तीन बालबालिकासहित १२ जनाको ज्यान गएको छ भने दर्जनौं नागरिक घाइते भएका छन्। राष्ट्रपति जेलेन्स्कीले देशका २२ स्थानमा क्षति पुगेको र ३० भन्दा बढी शहर तथा गाउँहरूमा उद्धार कार्य जारी रहेको जानकारी दिनुभएको छ।

यता, अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार ढिलोगरी प्रतिक्रिया दिँदै पुटिनको कदमबाट आफू खुसी नभएको टिप्पणी गर्नुभएको छ। पुटिनले धेरै मानिसको हत्या गरिरहेको भन्दै असन्तुष्टि जनाए पनि ट्रम्पको ढिलो र अस्पष्ट प्रतिक्रिया विभिन्न तर्फबाट आलोचित बनेको छ।