

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेर २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ। सुनको भाउ लगातार चार दिनदेखि बढिरहेको छ। यो अवधिमा सुनको मूल्य तोलामा कुल ५ हजार रुपैयाँले बढेको हो।
बुधबार सुनको भाउ तोलामा ९०० रुपैयाँ बढेर २ लाख ८३ हजार २०० रुपैयाँ कायम भएको थियो। त्यसअघि मंगलबार ८०० रुपैयाँ र सोमबार ३ हजार रुपैयाँले मूल्य बढेको थियो। तर, साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ११ हजार ७०० रुपैयाँ घटेको थियो।
यता, चाँदीको मूल्य भने आज घटेको छ। महासंघका अनुसार चाँदी तोलामा ४० रुपैयाँले घटेर ३ हजार ९३० रुपैयाँमा झरेको छ। बुधबार चाँदीको मूल्य तोलाको ३ हजार ९७० रुपैयाँ थियो। महासंघका अनुसार गत माघ १५ गते सुनको भाउ तोलामा २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो। यो नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य हो।
त्यस्तै, गत माघ १५ गते चाँदीको मूल्य पनि तोलाको ७ हजार ५०५ रुपैयाँ पुगेर हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। माघ १८ गते चाँदीको मूल्य तोलामा १ हजार ५६५ रुपैयाँले घटेको थियो, जुन हालसम्मकै ठूलो गिरावटका रूपमा उल्लेख गरिएको छ।