द्रुतमार्गको सबैभन्दा लामो महादेवटार सुरुङको दायाँ ट्युब पनि ‘ब्रेकथ्रु’

द्रुतमार्गको सबैभन्दा लामो महादेवटार सुरुङको दायाँ ट्युब पनि ‘ब्रेकथ्रु’

काठमाडौं । काठमाडौं-तराई/मधेश द्रुतमार्गमा निर्माणाधीन सबैभन्दा लामो महादेवटार सुरुङमार्गको दायाँ ट्युब आज ‘ब्रेकथ्रु’ भएको छ। नेपाली सेनाले सुरुङ ब्रेकथ्रुका लागि आयोजना गरेको विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भएका थिए। राष्ट्रपति पौडेलको उपस्थितिमा सुरुङको दायाँ ट्युब छिचोलिएको हो।

नेपाली सेनाका सूचना अधिकारी तथा सहायक रथी राजाराम बस्नेतले द्रुतमार्गको सबैभन्दा लामो महादेवटार सुरुङमार्गको दायाँ ट्युब ब्रेकथ्रु भएको जानकारी दिए। तीन हजार ४५५ मिटर लामो उक्त सुरुङको यसअघि गत भदौमा बायाँ ट्युब ब्रेकथ्रु भएको थियो। आज दायाँ ट्युब पनि ब्रेकथ्रु भएसँगै महादेवटार सुरुङमार्ग छिचोल्ने काम सम्पन्न भएको छ।

द्रुतमार्गमा कुल ११.२ किलोमिटर लम्बाइका सातवटा सुरुङमार्ग निर्माण भइरहेका छन्। यसअघि एक हजार ६९१ मिटर लामो धेद्रे र एक हजार ६२३ मिटर लामो लेनडाँडा सुरुङ ब्रेकथ्रु भइसकेका छन्। अब दुई हजार २३७ मिटर लामो चन्द्राम भीर, एक हजार मिटर लामो देवीचौर, ३९० मिटर लामो सिसौटार र ५८३ मिटर लामो मौरीभीर सुरुङ ब्रेकथ्रु हुन बाँकी छन्। यीमध्ये मौरीभीर सुरुङको ठेक्का लाग्न बाँकी रहेको छ।

२०७४ वैशाख २१ गते सरकारले चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो।

सेनाका अनुसार २०८३ भदौ मसान्तसम्म द्रुतमार्गको भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति ५१.४७ प्रतिशत पुगेको छ। द्रुतमार्ग निर्माण सम्पन्न गर्नुपर्ने पछिल्लो म्याद २०८३ चैतसम्म तोकिएको थियो। निर्धारित समयमा निर्माण सम्पन्न नहुने देखिएपछि गत साउन २० गते बसेको मन्त्रिपरिषद् बैठकले आयोजनाको म्याद थप तीन वर्ष बढाएर २०८६ चैतसम्म पुर्‍याएको छ।