

काठमाडौं । प्रेमको उन्मादले कहिलेकाहीँ मान्छेलाई हद पार गराउँछ भन्ने कथनलाई चरितार्थ पार्ने एउटा अनौठो घटना भारतको हरियाणास्थित सोनीपतमा घटेको छ।
ओपी जिन्दल विश्वविद्यालयको होस्टेलमा अध्ययनरत एक विद्यार्थीले आफ्नी प्रेमिकालाई सुटकेसभित्र लुकाएर होस्टेलमा भित्र्याएका छन्। तर उनको यो प्रयास असफल भएको छ, र घटनाले अहिले सामाजिक सञ्जालमा व्यापक चर्चा पाइरहेको छ।
जानकारीअनुसार होस्टेलमा केटीको प्रवेशमा कडाइ गरिएको छ। तर प्रेममा डुबेका ती युवकले नियम उल्लंघन गर्दै प्रेमिकालाई सुटकेसभित्र हालेर होस्टेल भित्र्याउने प्रयास गरे। सुटकेस तानिँदा भित्र भएकी केटीले अचानक चिच्याउन थालेपछि सुरक्षागार्डलाई शंका लाग्यो।
सुरक्षाकर्मीहरूले तत्काल सुटकेस खोले र त्योभित्र सामान होइन, एक युवती भेटिएपछि सबै स्तब्ध भए। सार्वजनिक भिडियोमा महिला सुरक्षागार्डहरू सुटकेस खोलेर युवतीलाई बाहिर निकालिरहेको दृश्य देख्न सकिन्छ।
यो घटनापछि होस्टेल प्रशासनले ती युवकको परिचय खुलाएको छ भने विश्वविद्यालयमा थप सुरक्षा कडाइ गरिएको छ। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोले विद्यार्थीहरूबीच चासो र बहस सिर्जना गरेको छ।