महाकुम्भ स्नान गरेर फर्किएका पाँच नेपालीको भारतमा सवारी दुर्घटनामा मृत्यु

महाकुम्भ स्नान गरेर फर्किएका पाँच नेपालीको भारतमा सवारी दुर्घटनामा मृत्यु

जलेश्वर । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा महाकुम्भ स्नान गरेर घर फर्किरहेका पाँच नेपालीको भारतको मधुवनीमा भएको सवारी दुर्घटनामा ज्यान गएको छ। शनिबार दिउँसो महोत्तरीसँग जोडिएको मधुवनी जिल्लाको मादापुर सडक खण्डमा बीआर ३२पी ए ४६६१ नम्बरको स्कार्पियो दुर्घटनाग्रस्त हुँदा पाँच जनाको मृत्यु भएको हो। दुर्घटनामा परी अन्य चार जना गम्भीर घाइते भएका छन्।

मृतकहरूको पहिचान

दुर्घटनामा परेर ज्यान गुमाउनेमा महोत्तरी, जलेश्वर नगरपालिका–७ का ६० वर्षीय बालकृष्ण झा, उनकी पत्नी ५० वर्षीया इन्दु देवी, मनरासिश्वा नगरपालिका–२ की ५० वर्षीया मनतारन देवी, धनुषा जिल्लाको गङ्गुलीकी ३० वर्षीया अर्चना झा र सिरहाका स्कार्पियो चालक (नाम नखुलेको) रहेका छन्।

गम्भीर घाइतेको अवस्था

मृतक बालकृष्णका भाञ्जा ३० वर्षीय मनोहर ठाकुर, भाञ्जी २५ वर्षीया कामिनी झा, बहिनी ५० वर्षीया जगतारण देवी र सात वर्षीया नातिनी सृष्टि झा गम्भीर घाइते भएका छन्। उनीहरूको मुजफ्फरपुरमा उपचार भइरहेको वडा सदस्य सुल्तान कवारीले जानकारी दिएका छन्।

घटनाको अनुसन्धान जारी

मधुवनी मन्दिर नजिकै दुर्घटना भएको खबर प्राप्त भए पनि दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताएका छन्।