नेपाली सेनाबाट निःशुल्क स्वास्थ्य शिविर संचालन

नेपाली सेनाबाट निःशुल्क स्वास्थ्य शिविर संचालन

सप्तरी । सप्तरीमा नेपाली सेनाले निः शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । सेनाको श्री बरख गणले सप्तरीको रुपनी गाउंपालिका वडा नं. ६ स्थित तेरहौतामा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो । स्थानियहरुसंगको सैनिक नागरिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले श्री नं.२७ बाहिनी अड्डा तथा श्री नं. २७ फिल्ड एम्बुलेन्स गुल्मसंगको सहकार्यमा तेरहौतामा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको श्री बरख गणले जनाएको छ ।

उक्त स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण, निःशुल्क औषधी बितरण, आँखा जांच तथा चस्मा वितरण जस्ता सेवाहरु प्रदान गरिएको थियो । उक्त शिविरबाट महिला १९६ जना र पुरुष ८९ जना गरी जम्मा २८५ जना स्थानियवासीहरु लाभान्वित भएका थिए भने आँखाको समस्या पहिचान भएका १२० जना बिरामीहरुलाई निःशुल्क चश्मा बितरण गरिएको सेनाले जनाएको छ । सो क्रममा गणले जिल्ला बिपद् व्यवस्थापन समितिसंगको समन्वयमा शितलहर पिडित अति बिपन्न १ सय ३२ जना स्थानियहरुलाई न्यानो कम्बल समेत बितरण गरेको थियो ।