भेनेजुएलाका राष्ट्रपतिका छोरा ‘गुपचुप’ काठमाडाैंमा

भेनेजुएलाका राष्ट्रपतिका छोरा ‘गुपचुप’ काठमाडाैंमा

काठमाडाैं, ३० असार । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुयरा ‘गुपचुप’ काठमाडौंमा छन्। त्यहाँको राजनीति र सत्ता सञ्चालनमा शक्तिशाली उनले साथमा ३ जना मन्त्री पनि ल्याएका छन्। शनिबार काठमाडौं आइपुगेको उनीहरूको टोलीमा ११ जना छन्।

चार दिन नेपाल बस्दा निकोलस अर्नेस्टोले कम्युनिस्ट नेताहरूसँग भेटघाट गर्नेछन्। त्यस क्रममा आइतबार नेकपा नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग भेटिसकेका छन्। सत्तारुढ दल नेकपाको युवा संगठनको निम्तोमा उक्त टोली काठमाडौं आएको हो।

भ्रमणमा आउँदा राष्ट्रपतिका छोरा, मन्त्री र टोलीका अन्य सदस्यले आवतजावत गर्ने साधारण कक्ष प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं प्रवेश गरेका थिए। नेपालका लागि भेनेजुएलाका आवासीय राजदूत कोरोमोतो गेदाई क्लाल्डरनले मात्र भीआईपी कक्ष प्रयोग गरेका थिए।

राष्ट्रपतिका छोरा मादुरो गुयरा विशेष सैनिक फौज (कर्पस् अफ स्पेसल इन्स्पेक्टर्स अफ दि प्रेसिडेन्सी) का प्रमुख हुन्। यसले राष्ट्रपति कार्यालयबाट भएका निर्णय कार्यान्वयन एवं प्रभावको सुपरिवेक्षणसमेत गर्छ। उनी पार्टी र संसद्मा समेत छन्। याे खबर आजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा प्रकाशित छ।