बैशाख २५ गतेसम्मलाई सर्याे कांग्रेसको देशब्यापी जागरण अभियान

बैशाख २५ गतेसम्मलाई सर्याे कांग्रेसको देशब्यापी जागरण अभियान

काठमाडौं, १० बैशाख । नेपाली कांग्रेसले भोलिदेखि शुरु गर्ने भनिएको देशव्यापी जागरण अभियान स्थगित गरी १३ दिनपछि बैशाख २५ गतेदेखि गर्ने निर्णय गरेको छ।

कांग्रेसका पूर्व कोषाध्यक्ष एवम् पूर्वमन्त्री रामकृष्ण ताम्राकारको आज दिउँसो असामयिक दुःखद् निधन भएपछि साँझ बसेको कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकले भोलिदेखि गर्ने भनिएको हिमाल, पहाड, तराई मधेश, नेपाली कांग्रेस राष्टिय जागरण अभियानको पहिलो चरणको एक महिने कार्यक्रमको मिति परिवर्तन गरेको हो।

बैठकपछि जारी विज्ञप्ति अनुसार कांग्रेसले उक्त कार्यक्रम वैशाख २५ गतेदेखि प्रारम्भ भई ज्येष्ठ २५ गतेसम्म देशभरका सबै  जिल्लाहरूमा पूर्ववत रुपमा संचालन हुने बताइएको छ ।  कांग्रेसले यसअघि नै वैशाख ११ गते लोकतन्त्र दिवसका दिनदेखि देशव्यापी जागरण अभियानको शुरुवात गर्ने घोषणा गरेको थियो ।

आफू नेतृत्वको सरकारले गरेका राम्रा काम र वर्तमान केपी ओली नेतृत्वको सरकारले गरेका गलत निर्णयको कार्यकर्ता र जनतामा जानकारी दिने भन्दै कांग्रेसले जागरण अभियान कार्यक्रम गर्न लागेको हो।

पारित शोक प्रस्ताव र निर्णय 

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको वैशाख १०, २०७६ मा
बसेको आकस्मिक बैठकद्वारा नेपाली कांग्रेसका नेता, पूर्व कोषाध्यक्ष तथा पूर्व मन्त्री
श्री रामकृष्ण ताम्राकारको निधनप्रति दुःख व्यक्त गर्दै पारित
शोक प्रस्ताव र निर्णय
(१) नेपाली कांग्रेसका नेता, पूर्व कोषाध्यक्ष तथा नेपाल सरकारको वाणिज्य; स्वास्थ्य; उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्री पदको जिम्मेवारी सम्हाल्नु भएका श्री रामकृष्ण ताम्राकारको आज २०७६ वैशाख १० गते दिउँसो ३ः४५ बजे ललितपुर स्थित अल्का अस्पतालमा उपचारका क्रममा निधन भएको छ । नेता ताम्राकारको असामयिक तथा दुःखद निधनले हामी स्तब्ध भएका छौँ ।
श्रद्धेय नेता बी.पी. कोइरालाको प्रेरणाबाट विद्यार्थी जीवनदेखि नै प्रजातान्त्रिक आन्दोलनमा  क्रियाशील रही पञ्चायती कालरात्रीमा समेत पटक–पटक जेलनेल र यातना सहनु भएका दिवंगत नेता ताम्राकार आफ्नो आस्था र विश्वासका लागि जुनसुकै वलिदान गर्न सदा तत्पर रहनु भयो । नेता ताम्राकार श्रद्धेय नेताहरु बी.पी. कोइराला, गणेशमान सिंह, सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको सानिध्यमा रही प्रजातान्त्रिक आन्दोलनमा जीवन पर्यन्त क्रियाशील रहनु भयो । नेपाली कांग्रेसको संगठन सुदृढ एवं गतिशील बनाउन महत्वपूर्ण योगदान पु¥याउनु भएका नेता ताम्राकार नेपाली कांग्रेसको एकीकरणमा विशिष्ट योगदान रहेको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, रुपन्देही जिल्ला कार्यालय लगायत पार्टीको भौतिक संरचना निर्माणमा उहाँको नेतृत्वदायी भूमिका रहेको थियो । राजनीतिक जीवन बाहेक पनि नेता ताम्राकारले शान्ति, वुद्ध दर्शन, विभिन्न स्थानमा गुम्बा, मठ, मन्दिर निर्माण कार्यमा पनि विशिष्ट योगदान पु¥याउनु भयो । राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति अटल आस्था र समर्पणभाव राख्नु हुने दिवंगत नेता ताम्राकारको निधनले नेपाली कांग्रेस र सिङ्गो मुलुकलाई अपूरणीय क्षति पुगकेो छ ।
(२) दिवंगत नेता श्री रामकृष्ण ताम्राकारप्रति सम्मान र उहाँको आत्माको चीर शान्तिको कामना गर्दै केन्द्रीय कार्यसमितिको यो बैठक २ मिनेट मौन धारण गर्दछ । दुःखको यस घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै गहिरो समवेदना प्रकट गर्दछ ।
(३) नेपाली कांग्रेसका नेता, पूर्व कोषाध्यक्ष एवं पूर्व मन्त्री रामकृष्ण ताम्राकारको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न भोलि मिति २०७६ वैशाख ११ गते विहान १०ः३० देखि दिउँसो १ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरको प्राङ्गणमा राखिनेछ । त्यसपछि भोलि नै पशुपति आर्यघाटमा उहाँको दाहसंस्कार हुनेछ ।
(४) दिवंगत नेता श्री रामकृष्ण ताम्राकारप्रति उच्च सम्मान प्रकट गर्दै शोक कार्यक्रम देहाय बमोजिम निर्धारण गरिएको छ—
(क) २०७६ वैशाख ११, १२ र १३ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयहरुमा झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलीका कार्यक्रम बाहेक पार्टीका अरु सबै कार्यक्रमहरु स्थगित गर्ने ।
(ख) २०७६ वैशाख ११ गते बुधबारका दिन केन्द्र तथा मातहतका सबै कार्यालयहरु बन्द गर्ने ।
(ग) स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने ।
(घ) स्वर्गारोहण १३ औं दिनमा केन्द्र र सबै जिल्लाहरुमा शोक सभाको आयोजना गर्ने ।
कृष्णप्रसाद पौडेल
मुख्य सचिव