काँग्रेस बैठक बस्दै, सबै विषय आज टुङ्ग्याउने तयारी

काँग्रेस बैठक बस्दै, सबै विषय आज टुङ्ग्याउने तयारी

काठमाडौँ, १ फागुन । नेपाली कांग्रेसको जारी केन्द्रिय समिति बैठकले आज पार्टीको विधान, राजनीतिक र आर्थिक प्रस्तावलाई अन्तिमरूप दिने भएको छ ।

सहमहामन्त्री डा. प्रकाशशरण महतकाअनुसार पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको हिजोको बैठक मुख्य गरी विधान र संघको विषयमै केन्द्रित भएको थियो डा. महतले भन्नुभयो –‘बैठकमा विधानमाथिको छलफल जारी रह्यो । केही विषय बाँकी छन् । आज बस्ने बैठकमा विधान, राजनीतिक, आर्थिक सबै विषय टुङ्ग्याउने कुरो छ । नेविसंघको पनि नयाँ तदर्थ समिति आउन सक्छ ।’

आजको बैठकबाट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको तदर्थ समितिको गठन गर्ने प्रक्रियालाई अगाडि बढाउने र अध्यक्षको चयन गर्ने सम्भावना रहेको छ । डा. महतले संघको हालको समितिको कार्यकाल विधानतः समाप्त भइसकेकाले आज तदर्थ समितिको अध्यक्षसम्म आउन सक्ने बताउनुभयो । संघका अध्यक्ष नैनसिंह महरले दुई दिन अघिमात्र राजीनामा दिनुभएको थियो ।

कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्ने नेताहरूले केन्द्रीय सभापतिदेखि केन्द्रीय सदस्यसम्म तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने धारणा व्यक्त गरेका छन् । कांग्रेसमा विवादको मुख्य जड नै सबै पदाधिकारी तलैबाट आउनुपर्छ र आउनु हुँदैन भन्ने रहेको छ ।

आरक्षणमा पनि एकपटकभन्दा बढी अवसर दिनु हुँदैन र दिनुपर्छ भन्ने विवाद पनि कायमै छ । यस विषयमा पार्टीमा छलफल जारी रहेकाले आज निर्णय आउने जानकारी दिइएको छ ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, बलबहादुर के.सी., ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, किशोरसिंह राठौर, गगनकुमार थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र मोहनबहादुर बस्नेतले विधान लगायतका विषयमा बोल्नुभएको थियो ।