

मयनबाहेक बसिर अहमदले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका ६ जना ब्याटर शून्य रनमै आउट भए । पाकिस्तान शाहीन्सका लागि मोहम्मद हसनैन र सुफियान मोकिमले समान तीन विकेट लिए । इमरान रान्धवाले दुई तथा माज सदाकतले एक विकेट हात पारे ।
त्यसअघि राशिद खानले लिस्ट ‘ए’ करिअरमै पहिलोपटक पाँच विकेट लिँदा पाकिस्तान शाहीन्स १६८ रनमा समेटिएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो । उसका लागि रोहेल नजिरले अविजित ६४ रन बनाए । उनले ८३ बलमा चार चौका र तीन छक्का प्रहार गरे ।
त्यस्तै, हसन नवाजले २८, अहमद दानियालले १६, हैदर अलीले १५ तथा माज सदाकत र अब्दुल समादले समान १३ रन बनाए । नेपालका लागि राशिदले आठ ओभरमा ३९ रन खर्चेर पाँच विकेट लिए । लिस्ट ‘ए’ क्रिकेटमा डेब्यु गरेका अभिषेक गौतमले दुई तथा कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले एक–एक विकेट लिए ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा भारत ‘ए’सँग ३०६ रनको फराकिलो हार बेहोरेको थियो भने दोस्रो खेलमा यूएईलाई पराजित गरेको थियो । समूह ‘बी’का तीनवटै खेल जितेको पाकिस्तान ‘ए’ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । भारत ‘ए’ उपविजेताका रूपमा अन्तिम चारमा पुगेको छ ।