

त्यस्तै, वेस्ट इन्डिजका ३६, न्युजिल्यान्डका २५ र अफगानिस्तानका २३ खेलाडी अक्सनमा सहभागी हुन इच्छुक देखिएका छन्। अमेरिकाका १३, संयुक्त अरब इमिरेट्स (यूएई) का १० र नेपालका १० खेलाडीले पनि नाम दर्ता गराएका छन्। जापानका दुई खेलाडीले समेत यसपटक आईपीएल अक्सनमा सहभागी हुन नाम लेखाएका छन्।
बीसीसीआईका अनुसार अक्सनअघि विभिन्न फ्रेन्चाइज टोलीले १८४ खेलाडीलाई रिटेन वा अनुबन्ध गरिसकेका छन्। अब अक्सनबाट अधिकतम ६६ खेलाडी छनोट गर्न सकिनेछ। तीमध्ये २५ स्थान विदेशी खेलाडीका लागि उपलब्ध छन्।
अक्सनका लागि नाम दर्ता गराएका खेलाडीमध्ये १८४ जना अन्तर्राष्ट्रिय खेल खेलिसकेका, ९९४ जना अन्तर्राष्ट्रिय खेल नखेलेका र ४२ जना एसोसिएट राष्ट्रका खेलाडी छन्। अन्तर्राष्ट्रिय खेल नखेलेका ९९४ खेलाडीमध्ये ९२५ जना भारतीय छन्। तीमध्ये १२७ जनाले यसअघि आईपीएल खेलिसकेका छन्।
अब फ्रेन्चाइज टोलीहरूले दर्ता भएका खेलाडीमध्ये आफूले अक्सनको अन्तिम सूचीमा समावेश गर्न चाहेका खेलाडीको नाम बीसीसीआईलाई बुझाउनेछन्। अन्तिम अक्सन सूची र खेलाडीको समूह आगामी डिसेम्बर ४ मा सार्वजनिक गरिने बीसीसीआईले जनाएको छ।
यसअघि सबै फ्रेन्चाइज टोलीले आगामी सिजनका लागि खेलाडी रिटेन गर्ने सूची सार्वजनिक गरिसकेका छन्। त्यसक्रममा अस्ट्रेलियाका मिचेल स्टार्क र ट्राभिस हेडलाई उनीहरूका सम्बन्धित टोलीले रिलिज गर्नु चर्चाको विषय बनेको थियो।
दिल्ली क्यापिटल्सले मिचेल स्टार्कलाई रिलिज गरेको हो। क्रिकेट अस्ट्रेलियाको कार्यभार व्यवस्थापन योजनाका कारण उनले आईपीएल २०२६ को पहिलो आधा खेल गुमाएका थिए। दिल्लीले उनलाई ११ करोड ७५ लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो।
आईपीएल २०२७ मा उनको उपलब्धताबारे पुनः प्रश्न उठेपछि दिल्लीले स्टार्कलाई रिलिज गर्ने निर्णय गरेको हो।