राशिद खानको पाँच विकेटसँगै पाकिस्तान ‘ए’ १६८ रनमा समेटियो

राशिद खानको पाँच विकेटसँगै पाकिस्तान ‘ए’ १६८ रनमा समेटियो
काठमाडौं । कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेटमा नेपालले पाकिस्तान ‘ए’लाई १६८ रनमा अलआउट गरेको छ । मंगलबार दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ले ४२ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको हो ।

नेपालका राशिद खानले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए । उनले आठ ओभरमा ३९ रन खर्चिए । त्यस्तै, अभिषेक गौतमले दुई तथा कुशल भुर्तेल र कप्तान सन्दीप लामिछानेले एक-एक विकेट लिए । पाकिस्तान ‘ए’का लागि रोहेल नजिरले अविजित ६४ रन बनाए । उनले ८३ बलमा चार चौका र तीन छक्का प्रहार गरे । हसन नवाजले २८, अहमद दानियालले १६, हैदर अलीले १५ तथा माज सदाकत र कप्तान अब्दुल समाले समान १३ रन बनाए ।

आठौँ विकेटका लागि रोहेल नजिर र अहमद दानियालबीच ७० रनको साझेदारी भएको थियो । राशिद खानले दानियाललाई इशान पाण्डेमार्फत क्याच आउट गराउँदै उक्त साझेदारी तोडेका थिए ।