वैभव सूर्यवंशीको कीर्तिमान : २८ बलमै शतक, ५३ बलमा २०४ रन

वैभव सूर्यवंशीको कीर्तिमान : २८ बलमै शतक, ५३ बलमा २०४ रन
काठमाडौं । भारतका युवा ब्याटर वैभव सूर्यवंशीले लिस्ट ए क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान कायम गरेका छन् । राइजिङ स्टार्स एसिया कपअन्तर्गत यूएईविरुद्धको खेलमा उनले मात्र २८ बलमा शतक पूरा गरेका हुन् । दोहामा भएको खेलमा वैभवले ५३ बलमा २०४ रनको विस्फोटक इनिङ्स खेले । उनको इनिङ्समा २८ छक्का र सात चौका समावेश थिए ।

यससँगै उनले अस्ट्रेलियाका जेक फ्रेजर-म्याकगर्कको कीर्तिमान तोडेका छन् । फ्रेजर-म्याकगर्कले सन् २०२३-२४ मा तस्मानियाविरुद्ध २९ बलमा शतक बनाएका थिए ।

यसअघि दक्षिण अफ्रिकाका एबी डिभिलियर्सले सन् २०१४-१५ मा वेस्ट इन्डिजविरुद्ध ३१ बलमा शतक बनाएका थिए । त्यस्तै, बिहारका साकिबुल गनीले अरुणाचल प्रदेशविरुद्ध ३२ बलमा र झारखण्डका ईशान किशनले कर्नाटकविरुद्ध ३३ बलमा शतक पूरा गरेका थिए ।

वैभवले ४० बलमै १५० रन पूरा गर्दै लिस्ट ए क्रिकेटमा सबैभन्दा छिटो १५० रन बनाउने कीर्तिमान पनि आफ्नो नाममा लेखाए । उनले सन् २०२५ मा बिहारबाट खेल्दै अरुणाचल प्रदेशविरुद्ध ५९ बलमा १५० रन बनाएर कायम गरेको आफ्नै कीर्तिमान सुधार गरेका हुन् ।

यूएईले दिएको २५० रनको लक्ष्य भारत ‘ए’ले १४.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । १३औँ ओभरको पाँचौँ बलमा २०४ रन बनाएका वैभव आउट भएका थिए । त्यसपछि रिंकु सिंहले छक्का प्रहार गर्दै भारतलाई सात विकेटको जित दिलाए ।