जनजीविकाका मुद्दा कांग्रेसले प्रभावकारी रूपमा उठाउनुपर्छ : महामन्त्री पौडेल

जनजीविकाका मुद्दा कांग्रेसले प्रभावकारी रूपमा उठाउनुपर्छ : महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जनजीविकासँग जोडिएका मुद्दालाई कांग्रेसले प्रभावकारी रूपमा उठाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा महामन्त्री पौडेलले सरकार जनजीविकाका सवालमा गम्भीर नदेखिएको र मूल्यवृद्धिसमेत नियन्त्रण गर्न नसकेको बताए ।

निर्वाचन नजिकिँदै गएको अवस्थामा सुशासन, सङ्घीयताको सबलीकरण र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने विषयलाई कांग्रेसले मुख्य एजेन्डा बनाउनुपर्ने उनको भनाइ थियो । नागरिकसँग आत्मीय सम्बन्ध कायम गर्दै उनीहरूका पीडामा मलम लगाउनेदेखि देश विकासका विषयमा समेत स्पष्ट दृष्टिकोण बनाएर अघि बढ्न उनले पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले भ्रष्टाचार नियन्त्रण तथा कांग्रेसले विगतमा गरेका ऐतिहासिक र महत्त्वपूर्ण कामको अभिलेख राख्ने विषयमा ध्यान दिनुपर्ने बताए । सो अवसरमा कांग्रेसको १५औँ महाधिवेशनबाट गण्डकी प्रदेशका तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित नेताहरूलाई सम्मान गरिएको थियो ।