बैंकक खुला तेक्वान्दोमा वैभवीको दोहोरो सफलता, नेपाललाई दुई पदक

बैंकक खुला तेक्वान्दोमा वैभवीको दोहोरो सफलता, नेपाललाई दुई पदक

काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा सम्पन्न बैंकक खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई दुई पदक दिलाएकी छन्। ११ वर्षीया वैभवीले क्योरुगी विधामा रजत र पुम्सेमा कास्य पदक जितेकी हुन्।

नेपालबाट प्रतियोगितामा एक्लो सहभागी वैभवीले बैंककस्थित फेसन आइल्यान्डको स्पोर्ट्स हलमा भएको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरिन्। क्योरुगी विधाको प्रतिस्पर्धात्मक फाइनलमा उनी थाइल्यान्डकी खेलाडीसँग पराजित हुँदै रजत पदकमा सीमित भइन्। यस्तै, पुम्से विधामा ३५ खेलाडी सहभागी प्रतिस्पर्धामा उनले कास्य पदक जितिन्।

वैभवीले यसअघि थाइल्यान्डमै सम्पन्न १४औँ रोयल प्रिन्सेस कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि दुई रजत पदक जितेकी थिइन्। शनिबार र आइतबार सञ्चालन भएको बैंकक खुला प्रतियोगितामा नेपालसहित थाइल्यान्ड, भारत, इन्डोनेसिया, अमेरिका, हङकङ, म्यान्मा, बेल्जियम, सिङ्गापुर र भियतनामका करिब तीन हजार खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

कम उमेरमै अन्तर्राष्ट्रिय प्रतियोगितामा लगातार पदक जित्दै वैभवीले नेपाली तेक्वान्दोमा आफ्नो सम्भावना देखाएकी छन्।