

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको कम स्कोरको खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले एक खेल बाँकी छँदै प्लेअफमा स्थान पक्का गरेको हो।
कर्णालीले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। छ खेलबाट नौ अंक जोडेको लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। लुम्बिनीले लिग चरणको अन्तिम खेल विराटनगर किंग्ससँग खेल्नेछ।
लगातार चौथो हार बेहोरेको कर्णालीको प्लेअफ सम्भावना भने कमजोर बनेको छ। सुरुवाती दुई खेल जितेको कर्णालीले त्यसपछि लगातार चार खेलमा पराजय भोगेको छ। कर्णाली छ खेलबाट चार अंकसहित सातौँ स्थानमा छ।
लुम्बिनीको जितमा डार्सी सर्टले सर्वाधिक ४६ रन बनाए। अर्धशतक बनाउन चार रनले चुकेका उनले ३४ बलमा छ चौका र एक छक्का प्रहार गरे। उनी १४औँ ओभरमा आउट भएका थिए।
दिलीप नाथले अविजित २८ रनको योगदान दिए। सुरुवातदेखि नै विकेट गुमाएको लुम्बिनीका लागि सर्टले एक छेउबाट इनिङ्स सम्हालेका थिए। आसिफ पौडेल र कप्तान रोहित पौडेल समान एक तथा सन्दीप जोरा चार रनमा आउट भएपछि लुम्बिनीले १९ रनमै तीन विकेट गुमाएको थियो।
सर्ट र निरोशन डिकवेलाले चौथो विकेटका लागि ४१ रनको साझेदारी गरे। डिकवेलाले १३ बलमा दुई चौकासहित १६ रन बनाए। त्यसपछि सर्टले दिलीप नाथसँग मिलेर इनिङ्स अघि बढाए।
सर्ट आउट भएपछि दिलीपले टोलीलाई जितसम्म पुर्याए। शमिम हुसेन पाँच रनमा आउट भए। दिलीपले २७ बलमा चार चौकासहित अविजित २८ रन बनाए। उनले हुसेन तलतको बलमा विजयी चौका प्रहार गरेका थिए।
कर्णालीका मार्क वाटले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा एक मेडनसहित १२ रन खर्चेर चार विकेट लिए। पवन सर्राफ र हुसेन तलतले एक–एक विकेट हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली १९.२ ओभरमा १०५ रनमा अलआउट भएको थियो।
कर्णालीका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए। उनले १८ बलमा चार चौका र एक छक्का प्रहार गरे। हुसेन तलतले २२ बलमा दुई चौका र एक छक्कासहित २४ रन जोडे। गुल्सन झाले १३ तथा पवन सर्राफले १२ रन बनाए।
अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। यस सिजन पहिलो खेल खेल्दै ओपनिङ गरेका दीपेन्द्र राउत खाता नखोली आउट भए। अरिफुल इस्लाम र दीपक डुम्रेले समान चार, नयाँ कप्तान डेविड मिलरले पाँच, मार्क वाटले दुई र नन्दन यादवले तीन रन बनाए।
१५ रनमै चार विकेट गुमाएको कर्णालीका लागि पवन र सोमपालले पाँचौँ विकेटका लागि ४० रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए। तर नियमित अन्तरालमा विकेट गुमाउँदा कर्णाली ठूलो योगफल बनाउन असफल भयो।
लुम्बिनीका अभिशेष गौतम, डार्सी सर्ट, किशोर महतो र कप्तान रोहित पौडेलले समान दुई विकेट लिए। रुबेन ट्रम्पलम्यान र शेर मल्लले एक–एक विकेट हात पारे।