कर्णालीले टस जितेर ब्याटिङ रोज्यो, कप्तानीमा डेविड मिलर

कर्णालीले टस जितेर ब्याटिङ रोज्यो, कप्तानीमा डेविड मिलर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्धको खेलमा कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीका कप्तान डेविड मिलरले टस जितेर ब्याटिङ रोजेपछि लुम्बिनीले पहिले बलिङ गर्ने भएको हो।

कर्णालीले आजको खेलमा कप्तान परिवर्तन गरेको छ। सोमपाल कामीको स्थानमा डेविड मिलरलाई कप्तानीको जिम्मेवारी दिइएको छ।

कर्णालीले टोलीमा तीन खेलाडी पनि परिवर्तन गरेको छ। सूर्य तामाङ, युवराज खत्री र जिसन आलमको स्थानमा विपिन शर्मा, दीपेन्द्र राउत र हुसैन तलातलाई मौका दिइएको छ।

नेपाली युवा टोलीका कप्तान विपिन ओमानमा यू–१९ एसिया कप खेलेर बुधबार मात्रै काठमाडौं आइपुगेका थिए। पहिलो सिजन ट्यालेन्ट हन्टबाट कर्णालीमा आबद्ध भएका विपिनले यस सिजन एनपीएलमा पहिलो खेल खेल्दैछन्।

यता, लुम्बिनीले पनि दुई खेलाडी परिवर्तन गरेको छ। तिलकराज भण्डारीको स्थानमा करण घर्तीमगर र ग्रान्ट स्टेवार्डको स्थानमा सामिम हुसैनलाई टोलीमा समावेश गरिएको छ।

प्लेअफमा स्थान बनाउन दुवै टोलीलाई यो खेल जित्नैपर्ने दबाब छ। पाँच खेलबाट सात अंक जोडेको लुम्बिनी अंक तालिकाको तेस्रो स्थानमा छ भने चार अंकसहित कर्णाली सातौँ स्थानमा छ।

लुम्बिनी लायन्सको प्लेइङ–११: रोहित पौडेल, सन्दीप जोरा, अविशेष गौतम, आशिफ शेख, दिलीप नाथ, शेर मल्ल, रुवेन ट्रम्पलम्यान, निरोशन डिकवेल्ला, डार्सी सर्ट, सामिम हुसैन र किशोर महतो।

कर्णाली याक्सको प्लेइङ–११: सोमपाल कामी, गुल्सन झा, नन्दन यादव, दीपक डुम्रे, दीपेन्द्र राउत, विपिन शर्मा, पवन सर्राफ, अरिफुल इस्लाम, मार्क वाट, मोहम्मद हुसैन तलात र डेविड मिलर।