विराटनगरसँग हार्दै पोखरा एनपीएलकाे प्लेफअफ दाैडबाट बाहिरियो

विराटनगरसँग हार्दै पोखरा एनपीएलकाे प्लेफअफ दाैडबाट बाहिरियो

काठमाडौं । कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो।

छ खेलमा तेस्रो जित निकालेको विराटनगरले ६ अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। जितसँगै विराटनगरको प्लेअफ सम्भावना कायम रहेको छ। विराटनगरले लिग चरणको अन्तिम खेल लुम्बिनी लायन्ससँग खेल्नेछ।

अर्कोतर्फ, छ खेलमा पाँचौँ हार बेहोरेको पोखरा दुई अंकसहित अंक तालिकाको पुछारमा छ। यस हारसँगै पोखरा प्लेअफ होडबाट बाहिरिने पहिलो टोली बनेको छ।

विराटनगरको जितमा बसिर अहमदले संयमित ब्याटिङ गर्दै सर्वाधिक ३७ रन बनाए। ३९ बल खेलेका उनले दुई चौका र दुई छक्का प्रहार गरे। ओपनर लोकेश बमले २७ बलमा समान दुई चौका र छक्काको मद्दतमा ३३ रन जोडे।

आठौँ नम्बरमा ब्याटिङ गर्न आएका इसुरु उडानाले १२ बलमा चार चौका र एक छक्कासहित अविजित २५ रन बनाए। उनले नै विजयी चौका प्रहार गरेका थिए। सातौँ नम्बरमा आएका शेहान जयसूर्याले १४ बलमा दुई चौकासहित अविजित १७ रन जोडे।

ओपनर इमरान शेख १० र एन्जेलो म्याथ्युज आठ रनमा आउट भए। चरिथ असलंका र प्रतिश जिसीले खाता खोल्न सकेनन्। पोखराका कुशल भुर्तेल र रमेश मेन्डिसले समान दुई विकेट लिए भने विपिन खत्री र धनञ्जय लक्षणले एक–एक विकेट हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रनमा अलआउट भएको थियो। पोखराका ओपनर युवराज सिंह सम्राले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ८४ रन बनाए पनि अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।

सम्राले ४७ बलमा सात चौका र पाँच छक्काको मद्दतमा ८४ रन बनाएका हुन्। धनञ्जय लक्षणले १५ बलमा एक चौका र एक छक्कासहित २२ तथा सन्नी विकेले ११ बलमा एक छक्कासहित १२ रन बनाए। यी तीन खेलाडीबाहेक पोखराका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

७६ रनमा पाँच विकेट गुमाएको अवस्थामा सम्रा र धनञ्जयले छैटौँ विकेटका लागि ४६ रनको साझेदारी गर्दै पोखराको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए।

अर्जुन कुमाल एक, अर्जुन घर्ती पाँच र विपिन खत्री पाँच रनमा आउट भए। कुशल भुर्तेल, रमेश मेन्डिस, कप्तान चमिका करुणारत्ने र किरण ठगुन्नाले खाता खोल्न सकेनन्। सागर ढकाल एक रनमा अविजित रहे।

पोखराको इनिङ्स ध्वस्त पार्ने क्रममा विराटनगरका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे। उनले चार ओभरमा २७ रन खर्चेर ६ विकेट लिए। सन्दीपले १५औँ ओभरको तेस्रो, चौथो र पाँचौँ बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए।

सन्दीप एनपीएलमा ह्याट्रिक विकेट लिने तेस्रो खेलाडी बनेका छन्। यसअघि काठमाडौं गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक गरेका थिए।

यसअघि पाँच खेलमा एक विकेट मात्रै लिएका सन्दीपले यस खेलमा एक्लै ६ विकेट लिए। उनी एनपीएलमा एकै खेलमा ६ विकेट लिने तेस्रो खेलाडीसमेत बनेका छन्। यसअघि शाहब आलम र कर्णाली याक्सका विलियम बोसिस्टोले एकै खेलमा ६ विकेट लिएका थिए।

विराटनगरका एन्जेलो म्याथ्युज, चरिथ असलंका र रुपेश सिंहले पनि एक–एक विकेट लिए।