

काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा पाकिस्तानले नेपालसामु २७६ रनको लक्ष्य प्रस्तुत गरेको छ। ओमानमा जारी प्रतियोगितामा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालविरुद्ध पाकिस्तानले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २७५ रन बनाएको हो।
पाकिस्तानका अहमद हुसेनले सर्वाधिक ८९ रन बनाए। उनले ७३ बलको सामना गर्दै सात चौका र दुई छक्का प्रहार गरे। त्यस्तै, कप्तान फरहान युसुफले ९५ बलमा ६ चौका र तीन छक्काको मद्दतमा ७४ रन जोडे। पाकिस्तानका लागि हुसेन अब्बास डारले २३ बलमा २५, जहाँगिर बिलालले ४९ बलमा २२ र उस्मान खानले ३४ बलमा १९ रन बनाए। हम्जा जाहुरले ११ तथा अब्दुल कादिरले ६ रनको योगदान दिए।
नेपालका विपिन प्रसाद शर्माले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ५८ रन खर्चेर तीन विकेट लिए। सुशीलबहादुर रावलले दुई तथा अभय यादव र सचिन भट्टले समान एक विकेट हात पारे।
लगातार दुई खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिसकेको नेपाल प्रतियोगितामा पहिलो जितको खोजीमा पाकिस्तानविरुद्ध मैदानमा छ। नेपाल पहिलो खेलमा भारतसँग १० विकेटले र दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)सँग सात विकेटले पराजित भएको थियो।