दशौँ राष्ट्रिय खेलकुदका ३२ मध्ये २३ खेल सुर्खेतमा हुने

दशौँ राष्ट्रिय खेलकुदका ३२ मध्ये २३ खेल सुर्खेतमा हुने

काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका अधिकांश खेल मुख्य आयोजकस्थल सुर्खेतमा सञ्चालन हुने भएका छन्। कुल ३२ खेलमध्ये २३ खेल सुर्खेतमा गरिने निश्चित भएको छ। भौगोलिक कठिनाइ र आवश्यक खेल पूर्वाधारको अभावका कारण केही खेल भने कर्णालीका अन्य जिल्ला तथा छिमेकी लुम्बिनी प्रदेशमा सञ्चालन गर्न लागिएको हो।

प्रतियोगिताको औपचारिक उद्घाटन आगामी मङ्सिर १६ गते सुर्खेत रङ्गशालामा हुनेछ। प्रतियोगिताको समापन मङ्सिर २७ गते गर्ने तालिका तय गरिएको छ।

औपचारिक उद्घाटनअघि नै मङ्सिर ८ गतेदेखि विभिन्न खेलका प्रतिस्पर्धा सुरु हुनेछन्। पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीसहितका खेलको प्रतिस्पर्धा उद्घाटनअघि नै सुरु हुने शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ।

सुर्खेतमा अधिकांश ठूला मैदानी, इन्डोर तथा मार्सल आर्ट्सका खेल सञ्चालन हुनेछन्। यहाँ एथ्लेटिक्स, पुरुष फुटबल, क्रिकेट, भलिबल, हक्की, रग्बी र साइक्लिङका प्रतिस्पर्धा हुनेछन्।

त्यस्तै, कराते, तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, उसु र बक्सिङजस्ता फाइटिङ खेलका साथै ब्याडमिन्टन, टेबलटेनिस, जिम्न्यास्टिक, ह्यान्डबल, स्क्वास र बास्केटबल पनि सुर्खेतमै आयोजना गरिनेछ। यसबाहेक कबड्डी, आर्चरी, भारोत्तोलन, ई-स्पोर्ट्स र सेपाकताक्राका खेलसमेत सुर्खेतमा सञ्चालन हुनेछन्।

कर्णाली प्रदेशका अन्य जिल्लामा भने उपलब्ध पूर्वाधार र भौगोलिक अनुकूलताका आधारमा खेल विभाजन गरिएको छ। दैलेखमा आईटीएफ तेक्वान्दो, कालीकोटमा बुद्धिचाल, सल्यानमा जुडो र कुस्ती तथा पश्चिम रुकुममा शारीरिक सुगठनका प्रतिस्पर्धा आयोजना गरिनेछ।

कर्णालीमा आवश्यक पूर्वाधारको अभावका कारण केही खेल छिमेकी लुम्बिनी प्रदेशमा समेत सञ्चालन गर्नुपर्ने भएको छ। पौडी र सुटिङका खेल बाँकेको नेपालगन्जमा तथा टेनिस र खो–खोका प्रतिस्पर्धा बर्दियामा आयोजना गर्ने तय भएको छ। मन्त्रालयका अनुसार कुल ३२ खेलमध्ये २३ खेल सुर्खेतमा, पाँच खेल कर्णाली प्रदेशका अन्य चार जिल्लामा र बाँकी चार खेल लुम्बिनी प्रदेशका बाँके तथा बर्दियामा सञ्चालन गरिनेछ।