पोखराको पहिलो जित, कर्णाली ६३ रनले पराजित

पोखराको पहिलो जित, कर्णाली ६३ रनले पराजित

काठमाडौं । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ। सोमबारको पहिलो खेलमा पोखराले कर्णाली याक्सलाई ६३ रनले पराजित गर्दै प्रतियोगितामा पाँचौँ खेलबाट पहिलो जित निकालेको हो।

लगातार चार खेलमा पराजय भोगेको पोखराले जितसँगै दुई अंक जोडेको छ। यद्यपि, दुई अंकसहित पोखरा अंक तालिकाको पुछारमै यथावत् छ।

पोखरासँग पराजित भएपछि कर्णालीको प्लेअफ यात्रा कठिन बनेको छ। सुरुवाती दुई खेल जितेको कर्णालीले त्यसपछिका लगातार तीन खेलमा हार बेहोरेको छ। अब बाँकी दुई खेल जितेर मात्र कर्णालीलाई प्लेअफ पुग्न पर्याप्त नहुने देखिन्छ। त्यसका लागि नेट रनरेट पनि निर्णायक बन्नेछ।

पोखराले दिएको २१८ रनको लक्ष्य पछ्याएको कर्णाली १८.३ ओभरमा १५४ रनमै अलआउट भयो। कर्णालीका लागि पवन सर्राफले सर्वाधिक ३२ रन बनाए। अरिफुल इस्लामले २४, दीपक डुम्रेले २२ र कप्तान सोमपाल कामीले २१ रन जोडे। सूर्य तामाङले १३ रन बनाए।

कर्णालीका कप्तान सोमपाल ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट भए। पोखराका मेहदी हसनले तीन विकेट लिए भने धनञ्जय लक्षण, विपिन खत्री र कुशल भुर्तेलले समान दुई विकेट हात पारे।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१७ रन बनाएको थियो। जारी सिजनमा पहिलोपटक दुई सय रनभन्दा बढीको योगफल बनेको हो।

एनपीएल इतिहासमा दुई सयभन्दा बढी रनको योगफल बनेको यो तेस्रोपटक हो। यसअघि दोस्रो सिजनमा विराटनगरले पोखराविरुद्ध २२० रन र पोखराले कर्णालीविरुद्ध २०१ रन बनाएको थियो।

पोखराका लागि युवराजले उत्कृष्ट शतक प्रहार गरे। उनले ४८ बलमा १० चौका र छक्का प्रहार गर्दै १०२ रन बनाए। उनको शतक जारी एनपीएल सिजनको पहिलो शतक हो। उनी मार्क वाटको बलमा अरिफुल इस्लामबाट क्याच आउट भए।

एनपीएल इतिहासमा यो चौथो शतक हो। यसअघि पहिलो सिजनमा पोखराका आद्रेश गुसले ५५ बलमा शतक बनाएका थिए। दोस्रो सिजनमा कर्णालीका मार्क वाटले ४१ बलमा र पोखराका आडम रोसिङटनले ५८ बलमा शतक पूरा गरेका थिए।

एनपीएलका तीन सिजनमा चार खेलाडीले शतक बनाएका छन्। चारै शतक विदेशी खेलाडीका नाममा छन्। एनपीएल इतिहासमा अहिलेसम्म प्लेअफ पुग्न नसकेको पोखराका लागि भने तीन खेलाडीले शतक प्रहार गरिसकेका छन्।

दोस्रो विकेटका लागि युवराज र कुशल भुर्तेलले १३६ रनको साझेदारी गरे। कुशलले ३९ बलमा सात चौका र छक्का प्रहार गर्दै ६२ रन बनाए। उनले २८ बलमा छ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका थिए। उनी सोमपाल कामीकै बलमा विकेटकिपरबाट क्याच आउट भए।

ओपनर मेहदी हसन १६ बलमा पाँच रन बनाएर सोमपालकै बलमा क्याच आउट भए। सन्नी विके तीन र कप्तान चमिका करुणारत्ने ३५ रनमा अविजित रहे।

कर्णालीका लागि सोमपाल कामीले दुई विकेट लिए। उनले आफ्नो स्पेलमा २४ रन खर्चिए। मार्क वाटले एक विकेट लिए।

सोमबार नै हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्नेछन्। उक्त खेल साँझ ५ बजे सुरु हुनेछ।