

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भएको खेलमा चितवन राइनोजलाई १० रनले पराजित गर्दै काठमान्डु गोर्खाज अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो ।
यो जितसँगै पाँच खेलबाट आठ अंक जोडेको काठमान्डु प्लेअफ नजिक पुगेको छ । पाँच खेल खेलेको चितवन भने दोस्रो हारपछि पाँच अंकसहित तालिकाको चौथो स्थानमा छ ।
चितवनका लागि रवि बोपाराले सर्वाधिक ५५ रन बनाए । उनले ३५ बलमा दुई चौका र तीन छक्का प्रहार गरे । त्यस्तै, डान मोस्लीले २९, ओपनर किमल मिसराले २८ र अर्जुन साउदले २३ रन बनाए । कुशल मल्लले १३ रन जोडे ।
विवेककुमार यादव चार रनमा रनआउट भए भने कप्तान सिकन्दर राजा दुई रन बनाएर आउट भए । राजालाई एनपीएलमा डेब्यु गरेका काठमान्डुका आइकोनिक खेलाडी गणेश गौतमले आउट गरेका थिए ।
काठमान्डुका लागि सहान अराचिगेले दुई विकेट लिए । जहानदाद खान, कप्तान करण केसी, सन्तोष यादव र गणेश गौतमले समान एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले रासिद खानको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८० रन बनाएको थियो ।
काठमान्डुका लागि रासिदले सर्वाधिक ५२ रन बनाए । उनले ३० बलमा दुई चौका र चार छक्का प्रहार गरे । जारी सिजनमा उनको यो दोस्रो अर्धशतक हो । यसअघि उनले कर्णाली याक्सविरुद्ध पनि ५० रन बनाएका थिए ।
सुरुवातमै दुई विकेट गुमाएको काठमान्डुको इनिङ्स रासिदले सम्हालेका थिए । १३ रनमै दुई विकेट गुमाएको अवस्थामा उनले विलियम बोसिस्टोसँग तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गरे । बोसिस्टोले २२ बलमा २७ रन बनाए ।
यसअघि लुम्बिनीविरुद्ध अर्धशतक बनाएका अस्ट्रेलियन ब्याटर डेभिड वार्नर यस खेलमा ६ बलमा एक रन बनाएर आउट भए । अर्का ओपनर साहिल पटेलले आठ रन मात्र बनाउन सके ।
त्यसपछि रासिदले सहान अराचिगेसँग चौथो विकेटका लागि ५३ रनको महत्वपूर्ण साझेदारी गरे । अराचिगेले २० बलमा तीन चौका र दुई छक्काको मद्दतमा ३३ रन बनाए ।
अर्धशतक पूरा गरेलगत्तै रासिद १६औँ ओभरमा चितवनका कप्तान सिकन्दर राजाको बलमा कुशल मल्लबाट क्याचआउट भए ।
काठमान्डुका कप्तान करण केसीले आक्रामक ब्याटिङ गर्दै सात बलमा तीन छक्कासहित २० रन बनाए । जहानदाद खान र आदिल आलमले समान नौ रन जोडे भने सन्तोष यादव आठ रनमा अविजित रहे ।
बलिङतर्फ चितवनका रिजन ढकालले चार ओभरमा १४ रन खर्चेर तीन विकेट लिए । कप्तान सिकन्दर राजा र कमलसिंह ऐरीले समान दुई विकेट लिए । डान मोस्लीले एक विकेट हात पारे ।
यस जितसँगै काठमान्डुले प्लेअफ यात्रालाई बलियो बनाएको छ भने चितवनलाई आगामी खेलमा जित निकाल्नुपर्ने दबाब बढेको छ ।