नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान

नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले महानिरीक्षक केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई पदमुक्त गर्दै केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो।

दर्ज्यानी चिह्न प्रदान गर्दै गृहमन्त्री गुरुङले शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने, विपद् व्यवस्थापन तथा नागरिक सेवालाई प्रभावकारी बनाउने गरी काम गर्न निर्देशन दिए । उनले प्रहरी संगठन नागरिकसँग कसरी नजिक रहने र सेवाग्राहीप्रति कसरी सम्मानजनक व्यवहार गर्ने भन्ने विषयमा विशेष ध्यान दिनुपर्ने बताए ।

गृहमन्त्री गुरुङले डिजिटल रूपान्तरणसँगै बढिरहेका साइबर ठगी, अनलाइन वित्तीय अपराध, क्रिप्टो कारोबार, डीपफेक, संगठित अपराध तथा लागुऔषध बेचबिखनजस्ता नयाँ चुनौतीप्रति प्रहरी सचेत रहनुपर्नेमा जोड दिए। फिल्डमा खटिने प्रहरी कर्मचारीको मनोबल उच्च राख्ने गरी काम गर्न पनि उनले निर्देशन दिए।

दर्ज्यानी चिह्न ग्रहण गर्दै नवनियुक्त महानिरीक्षक केसीले संविधान र कानुनप्रति प्रतिबद्ध रहँदै नागरिकको सुरक्षा र सम्मानलाई सर्वोपरि राख्ने बताए। प्रहरी संगठनको मर्यादा र निष्पक्षतामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले आधारभूत तहदेखि सबै प्रहरी कर्मचारीका गुनासा सुन्ने संयन्त्र तत्काल सुरु गर्ने जानकारी दिए।

महानिरीक्षक केसीले प्रहरी संगठनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारसँग आवश्यक स्रोतसाधन, कानुनी स्पष्टता र कार्यगत स्वायत्तता उपलब्ध गराउन आग्रह गरे । साथै, प्रहरीलाई दलीय प्रभावबाट मुक्त राख्न राजनीतिक दलहरूको सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो।